धौलागिरी गाउँपालिकाको केन्द्रको विवाद समाधानका लागि वार्ता हुने

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २ चैत ।
धौलागिरी गाउँपालिकाको केन्द्रको बिवाद समाधानका लागि पहल थालीएको छ । गाउँपालिकाको केन्द्र स्थापनाका लागि मुना तर्फ हिडेको टोलीलाई ताकमका बासिन्दाले अवरोध गरेर मंगलबार फर्काएका थिए ।

जिल्ला समन्वय समितिमा बुधबार बसेको जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको बैठकले धौलागिरी गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिलाई वार्तामा बोलाउने निर्णय गरेको हो ।gssसमितिको समन्वयमा राजनीतिक दलको जिल्ला स्तरीय नेतृत्व र संघर्ष समितिका प्रतिनिधिहरुलाई बिहीबार ११ बजे वार्ताका लागि बोलाइएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।

समितिले अनुकुल र सुरक्षित भुवनोट, बस्ती विकासको सम्भावना, पुर्वाधारको उपलब्धता र प्रशासनीक सुगमताका आधारमा ताकमलाई केन्द्र कायम गर्नुपर्ने माग राख्दै आन्दोलन गरीरहेका छन् । स्थानीय तह पुनसंरचना आयोगले मुनालाई केन्द्र कायम गरेको छ ।

जिल्ला प्राबिधिक सहयोग समितिले ताकम वा मुना केन्द्र कायम गर्न सिफारीस गरेको थियो । गाउँपालिकाको केन्द्र र नामको विषयमा निर्वाचित जनप्रतिनिधिले छ महिनाभित्र टुङ्गो लगाउन सक्ने व्यवस्था रहेको छ ।

राजनीतिक वृतमा धौलागिरीको केन्द्र ताकम–मुना कायम गर्ने विषयमा छलफल चलेको छ । एउटै गाउँपालीका, नजिक र सिमाना जोडिएका वडाहरु भएकाले कार्यालयहरु बाडेर दुईतिरैबाट सञ्चालन गर्ने वातावरण बनाउन सहमती कायम गराउने विषयमा छलफल केन्द्रित भएको हो ।

यसैबीच ताकममा अवरोध भएपछि बिचैबाट सदरमुकाम फर्कीएको धौलागिरी गाउँपालिका कार्यालय स्थापना गर्न गएको निमित्त कार्यकारी अधिकृत सोमबहादुर खत्री र वडा सचिवहरुले सुरक्षाको माग गर्नुभएको छ ।

निमित्त कार्यकारी अधिकृत खत्री सहित ८ वटै वडाका सचिवहरुले कार्यालय स्थापना गर्न जाने क्रममा ताकममा अवरोध भएको र सुरक्षाको व्यवस्था नभएसम्म पुन जान नसकिने जिल्ला समन्वय समितिमा जानकारी लिखित पत्र मार्फत जानकारी गराएका छन् ।

म्याग्दीका अन्य ४ वटा स्थानीय तह कार्यान्वयन प्रक्रिया अघि बढेपनि धौलागिरी संगै रघुगंगामा समेत कार्यालय स्थापना हुन सकेको छैन् । निमित्त कार्यकारी अधिकृत हुमनारायण देवकोटा बिरामी भई बिदामा बसेको र केन्द्रको विषयमा बिवाद हुँदा कार्यालय स्थापना हुन ढिलाई भएको छ ।

रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले बुहसंख्यक बासिन्दालाई प्रशासनीक सुगमताका आधारमा मौवाफाँटमा केन्द्र बनाउनुपर्ने माग राख्दै निर्वाचन बहीस्कार गर्ने घोषणा गरेका छन् । बेनी नगरपालिका, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाको भने कार्यालय स्थापना भई नयाँ संरचना अनुसार काम सुरु भएको छ ।