युवा व्यवसायी श्रेष्ठद्धारा उमेद्वारी घोषणा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ फागुन ।
धौलागिरीका दुई जनाले नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यसमितिको पदाधीकारी र प्रदेश समितिको सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ ।

महासंघको चैत २८ र २९ गते हुने महाधिवेशनबाट निर्वाचीत हुने कार्यसमितिको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको उपाध्यक्षमा म्याग्दीका प्रमोद श्रेष्ठ र प्रदेश नम्बर ४ को सदस्यमा बागलुङका निर्माणकुमार श्रेष्ठले उमेदवारी घोषणा गर्नुभएको हो ।promod shresthaम्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार बेनीमा बसेको अञ्चल भेलाले श्रेष्ठद्धयलाई उपाध्यक्ष र प्रदेश सदस्यमा उमेद्वार बनाउने निर्णय गरेको संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

वर्तमान कार्यसमितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट केन्द्रिय सदस्य रहनुभएका म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्रेष्ठ यसअघि समेत दुई कार्यकाल महासंघको केन्द्रिय सदस्य भईसक्नुभएको छ ।

निर्माणकुमार श्रेष्ठ महासंघको वर्तमान कार्यसमितिको केन्द्रिय सदस्य तथा धौलागिरी अञ्चल संयोजक हुनुहुन्छ । उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका श्रेष्ठले महासंघको संस्थापन पक्षले बस्तुगत तर्फका ब्यवसायीलाई जिल्ला तथा नगरबाट उपाध्यक्ष बनाउन अघि सारेकाले आफूले उमेद्वारी दिएको बताउनुभयो ।

श्रेष्ठद्धयले नगर तथा जिल्ला उद्योग वाणिज्य संघको हक अधिकारको रक्षा, अन्यायको विरुद्ध आफूहरुले उमेद्वारी दिएको बताउनुभयो । उमेद्वारी घोषणासंगै चुनावी प्रचारप्रसारलाई पनि तिब्रता दिने अञ्चल भेलाले निर्णय गरेको छ ।