मौवाफाँटमा केन्द्र माग गर्दै निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ फागुन ।
प्रस्तावीत रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँटमा कायम गर्नुपर्ने माग राख्दै स्थानीयले बुधबार जिल्ला निर्वाचन र जिविसको कार्यालयमा तालाबन्दि गरेका छन् ।

रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले तालाबन्दि गरेपछि बैशाख ३१ गते घोषित स्थानीय तह निर्वाचनको तयारी गरिरहेको निर्वाचन कार्यालय र जिल्ला परिषद् बैठकको तयारी गरिरहेको जिविसको कामकाज ठप्प भएको छ ।IMG_3463निर्वाचन कार्यालयमा तस्विर सहितको मतदाता नामावली रुजु गरी अन्तिम रुप दिने, त्रुटी सच्चाउने र दावी बिरोधको काम चलीरहेको थियो । जिविसमा तालबान्दि हुँदा जिल्ला परिषद्को तयारीका साथै योजना सम्झौता, फरफारकका साथै अन्य प्रशासनीक काम प्रभावित बनेको छ ।

पिप्ले र भगवतीका बासिन्दाको अगुवाईमा निर्वाचन कार्यालय र जिविसमा पुगेको आन्दोलनकारीको टोलीले कार्यालय समय सकिनै लाग्दा कर्मचारीलाई बाहिर निकालेर तालाबन्दि गरेका थिए ।

साविकको बेगखोला, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, कुईनेमंगले र चिमखोला गाविसलाई समेटेर प्रस्ताव गरिएको रघुगंगा गाउँपालिकाको केन्द्र बहुसंख्यक बासिन्दाको प्रशासनीक सुगमता र भौगोलिक अनुकुलताको आधारमा मौवाफाँटमा कायम गर्नुपर्ने उनिहरुको माग छ ।

तत्कालीन जिल्ला प्राबिधिक सहयोग समितिले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट वा पाखापानी मध्य एक ठाउँमा सिफारीस गरेको थियो । राज्य पुनसंरचना आयोग र सरकारले बहुसंख्यक बासिन्दाको भावना तथा मागलाई बेवास्ता गर्दै पाखापानीलाई केन्द्र प्रस्ताव गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको आन्दोलनका अगुवा बालकृष्ण सुवेदीले बताउनुभयो ।

बेनी–जोमसोम सडक अन्तरगत प्रस्तावीत रघुगंगा गाउँपालिकामा पर्ने गलेश्वर–तिप्ल्याङ खण्डमा बुधबार एक घण्टा चक्का जाम गरेका संघर्ष समितिले बिहीबारदेखि सो सडक खण्ड ठप्प पार्ने र प्रर्दशन गर्ने बताएका छन् ।

समितिले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लामा क्रियाशिल राजनितिक दल र व्यवस्थापीका संसदमा प्रतिनिध्व गर्ने जिल्लाका सांसदहरुलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।