स्थानीय तहमा जनप्रतिनिधिको प्रतिक्षा

सन्तोष गौतम, बेनी/विकल्प न्यूज
फागुन १७ गते ।
करिब दुई दशकपछि स्थानीय निकायमा जनप्रतिनिधि चुन्न पाउने भएपछि म्याग्दीबासी खुसी भएका छन् । सरकारले फागुन ९ गते स्थानीयतह निर्वाचनको मिति घोषणा गरेपछि जनतामा खुसी र राजनीतिक कार्यकर्तामा उत्साह छाएको छ ।
जनता खुसी
कार्यकर्ता उत्साहित
चुनावी रणनीति बनाउँदै नेता
दलहरु चुनाव केन्द्रित

गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र वौद्धीक वर्गमा बैशाख ३१ मा घोषणा भएको स्थानीयतह निर्वाचनको चर्चा र बहस चल्न थालेको हो । स्थानीय निर्वाचनले जनप्रतिनिधि विहिन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवाप्रवाह सहज बन्ने, संबिधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ ।

निर्वाचनको मिति घोषणाले ग्रामिण क्षेत्रका बासिन्दालाई उत्साहित बनाएको शिख २ का दुर्गाबहादुर खातीले बताउनुभयो । “स्थानीय तहको सेवा सुबिधा सहज हुने, विकास निर्माणले गति लिने अपेक्षा छ” खातीले भन्नुभयो “गाउँका जनता प्रतिनिधि छनौट गर्न मतदानका लागि ब्यग्र प्रतिक्षामा छन् ।”

मतदानको मिति घोषणा भएकोमा खुसी लागेको शिख ९ का पूर्णबहादुर पाईजाले बताउनुभयो । गाउँ, गाउँमा सम्भावित उमेद्वारको चर्चासंगै राजनीतिक सक्रियता बढेको पाईजाले बताउनुभयो । स्थानीय स्तरमा चुनिने जनप्रतिनिधि मार्फत जनताको समस्या समाधान र सेवा सुबिधालाई सहज रुपमा उपभोग गर्ने वातावारण बन्ने सर्वसाधारणले बताएका छन् ।nirbachanनयाँ संबिधानले परिकल्पना गरेको व्यवस्था अनुसार पुनसंरचना भएको स्थानीयतहमा जनप्रतिनिधि चुनिएपछि जनताको विकास, न्याय, सुरक्षा, सहयोग, आर्थिक, सामाजिक चेतनामा पहुँच बढ्ने घारका रामबहादुर खड्काले बताउनुभयो । भेटघाट, भेला, प्रशिक्षण, संगठन विस्तारको कामले गाउँमा नेताहरु पुग्न थालेपछि चहलपहल बढेको छ । विकास निर्माणको बहसले समेत प्राथमिकता पाएको छ ।

मधेशकेन्द्रित दलको असन्तुष्टि र पुर्नसंरचनाको सवाल निर्वाचनको चुनौतीका रुपमा रहेपनि संबिधान कार्यान्वयन र विकासका लागि स्थानीयतहको निर्वाचन अपरिहार्य रहेको भुरुङ तातोपानीका बुद्धी पुनले बताउनुभयो । “निर्वाचनको वातावरण बनाउन सबै जुट्नुपर्छ” उहाँले भन्नुभयो “स्थानीयतहको निर्वाचन भएपछि जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न पाउँछन् ।”

करिब दुई दशकदेखि स्थानीयनिकायको चुनाव नहुँदा निराश भएका युवाहरु समेत उत्साहित हँुदै उमेद्वार बन्न लविङ थालेका छन् । निर्वाचनले मताधिकारको प्रयोग, अवसरको सिर्जना र राजनीतिक कार्यकर्ता व्यवस्थापनको बाटो खुलेको छ । १९ वर्षदेखि अध्यक्षको समेत जिम्मेवारी सम्हाल्दै आएका गाविस सचिवहरु जनप्रतिनिधि चुनिएपछि कामको बोझ घट्ने र सेवा प्रवाहमा सहजता आउने बताउँछन् ।

नयाँ व्यवस्था अनुसार महिला, दलित, आदीवासी जनजाती लगायत पछाडी परेका समुदायको समेत स्थानीयतहमा प्रतिनिधित्व हुने अवसरको ढोका खोलेको छ । गाउँ र नगरपालिकामा प्रमुख वा उपप्रमुख मध्य एक जना महिला उमेद्वार हुनुपर्ने व्यवस्था पहिलो पटक कार्यान्वयन हुदैछ । वडामा एक जना दलित र एक महिला उमेद्वार बनाउनुपर्ने व्यवस्था समेत छ ।

एक नगरपालिका र पाँच वटा गाउँपालिका प्रस्तावित म्याग्दीमा निर्वाचनका लागि १२ वटा राजनीतिक दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक विवरण अनुसार सत्तरी हजार जना भन्दा बढी मतदाता रहेका छन् । २०७३ फागुन ९ गतेसम्म तस्विर सहितको मतदाता नामावली दर्ता गराएका १८ वर्ष पुरा भएका मतदाताले मतदान गर्न पाउँनेछन् ।

विभिन्न दलका जिल्ला स्तरका नेताहरुले गाउँका कार्यकर्ताहरुलाई फोन र भेटघाट मार्फत निर्वाचनको तयारीका बारेमा छलफल बढाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलभित्र उमेद्वार छनौटको विषयमा चर्चा सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि दलहरु पूर्व तयारीमा जुटेका छन् । भेला, प्रशिक्षण, भेटघाट, सम्मेलन र अन्तरक्रियाले तिब्रता पाएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत दलका केन्द्रिय स्तरका नेताहरु जिल्ला र जिल्लाका नेताहरु गाउँमा विकेन्द्रित भएका छन् ।16831877_597298840462686_3706661514886590871_nस्थानीय निकायमा जनप्रतिनिधि चयन गर्नका लागि १९ वर्षपछि निर्वाचन हुन लागेको हो । स्थानीय तहको निर्वाचनपछि जनताले संबिधानमा भएका अधिकारको अनुभव गर्न पाउनुका साथै विकास निर्माणले गति लिने, सार्वजनिक सेवामा सहज पहुँच स्थापित हुने र अवसरको सिर्जना हुने नेताहरुको भनाइ छ ।

नेपाली काँग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठले नेता कार्यकर्तामा सक्रियता र चासो बढेको बताउनुभयो । भातृ संगठनको भेला, सम्मेलन, प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई तिब्रता दिएको काँग्रेसले छिट्टै जिल्ला कार्यसमितिको बैठक बसेर चुनावी अभियानको रणनीति तय गर्ने सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

चार महिने जनपरिचालन अभियान लिएर ग्रामिण क्षेत्रमा पुगेका म्याग्दीका एमालेका नेताहरु वडा र बस्ती तहमा संगठन विस्तारमा केन्द्रित भएका छन् । गाउँतहका नेता, कार्यकर्तालाई स्थानीयतहको चुनावको तयारीमा जुट्न निर्देशन दिएको एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदीले बताउनुभयो ।

जिल्ला कमिटिको बैठक बसेर चैतमा तय भएको जिल्ला अधिवेशनलाई स्थगित गरी निर्वाचन केन्द्रित अभियान अघि बढाउने सचिव सुवेदीले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले प्रस्तावित स्थानीयतह अनुसारको पार्टी संरचना तयार पारी अधिवेशन गर्ने र निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

गत मंगलबार बसेको जिल्ला सम्मेलन आयोजक कमिटी अन्तरगतको कार्यालयको बैठकले प्रस्तावित ५ गाउँपालिका र बेनी नगरपालिकाको सम्मेलन फागुन अघिनै सम्पन्न गर्ने निर्णय गरेको संयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो । स्थानीयतहको अधिवेशनसंगै उमेदवार छनौट गरी सबै शक्ति निर्वाचनमा केन्द्रित गर्ने पौडेलले बताउनुभयो ।

हालै राष्ट्रिय महाधिवेशन र एकताको जिल्ला अधिवेशन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले समेत चुनावी अभियान र योजना बनाउन थालेको छ । दोस्रो बैठकले जिल्ला कार्यसमिति पदाधीकारीको टुङ्गो लगाउने र चुनावी अभियानमा जुट्ने राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

अक्टोबर क्रान्तिको शतवार्षिकी अभियान अन्तरगत संगठन विस्तार, सुदृढीकरण अभियान चलाइरहेको राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवी विश्वकर्माले अभियानलाई निर्वाचन केन्द्रित बनाउने बताउनुभयो । निर्वाचन कार्यालय र सुरक्षा निकायले समेत आवश्यक तयारी थालेका छन् । निर्वाचन आयोगले बैशाख १६ गते उमेद्वारी दर्ता र बैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मदतानका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।