नांगीमा पर्यटक पथप्रर्दशक तालीम सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ फागुन ।
म्याग्दीको पर्यटकीय स्थल नांगीमा सञ्चालित पर्यटक पथप्रर्दशक तालीम बिहीबार सम्पन्न भएको छ । स्थानीय स्तरमा दक्ष पथप्रर्दशक उत्पादन गरि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले माघ २४ गतेदेखि तालीम सुरु भएको थियो ।

१७ दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दीको हिस्तान, राम्चे, शिख, घार, भकिम्ली, बिम, नारच्याङ र पर्वतको लेकफाँट, बाँसखर्क, शालीजा र क्याङ गाविसका ३६ जना पुरुष र चार जना महिलाको सहभागिता रहेको थियो ।Traking Guide Photoनेपाल एकेडेमी अफ टुरीजम एण्ड होटल मेनेजमेन्ट कलेज (नाफाम)को प्राबिधिक सहयोग, राम्चे, हिस्तान गाविस, नेपाल पर्यटन वोर्ड पोखरा, होटल एशोसियसन अफ नेपाल (हान) र जिविस म्याग्दीको आर्थिक सहयोगमा अन्नपूर्ण धौलागिरी सामुदायीक पर्या पर्यटनले तालीमको आयोजना गरेको हो ।

तालीममा सहभागिहरुलाई नाफामले उपलब्ध गराउने प्रमाणपत्रको आधारमा पर्यटन कार्यालयले पथप्रर्दशकको ईजाजतपत्र प्रदान गर्ने अन्नपूर्ण धौलागिरी पर्यापर्यटनका संयोजक चित्र तिलीजा पुनले बताउनुभयो । तालीमको नाफामका प्रिन्सीपल कृष्ण खरेल, तालीम प्रमुख शिवप्रसाद जैसी लगायतले सहजिकरण गर्नुभएको थियो ।