शिवपुराण महायज्ञको तेस्रो दिनसम्म ७ लाख सङ्कलन

विकल्प न्यूज /बेनी
फागुन ११ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी शिवालय मन्दिरमा सञ्चालित महाशिवपुराण महायज्ञको आजसम्म झण्डै साढे ७ लाख रुपैयाँ सङ्कलन भएको छ । करिब ४ सयवर्ष पुरानो प्राचीन ऐतिहासिक, धार्मिक तीर्थस्थलको रुपमा अवस्थित मन्दिरमा लगाइएको महायज्ञको तेस्रो दिन बुधबारसम्म ७ लाख २० हजार रुपैयाँ सङ्कलन गरिएको हो ।

महायज्ञमा हालसम्म सबैभन्दा धेरै मन्दिरका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठले २७ हजार ५ सय ५५ र पर्वतको मिलनचोकका मिलनबहादुर मल्लले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका महासचिव सुन्दर केसीले जानकारी दिए ।IMG_0006प्राचीन महत्व बोकेको मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले सोमबारदेखि लगाइएको महायज्ञ आउँदो १९ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । शिवालय मन्दिर परिसरमा १ सय ८ ओटा शिवलिङ्ग स्थापनार्थ महाशिवपुराण ज्ञान महायज्ञ आयोजना गरिएको र महायज्ञबाट सङ्कलित रकमले मन्दिरमा भौतिक पूर्वाधारको विकास गरिने महासचिव केसीको भनाई छ ।

महायज्ञमा मूलवाचक पण्डित डण्डपाणी उपाध्यायले दिव्य प्रवचन दिइरहेका छन् । यसैगरी महायज्ञको अवसरमा दैनिक पुजा, पाठपारायण, भजनकिर्तन, प्रवचन, सम्मान, आरती, पुष्पाञ्जली, लाखबत्तीलगायतका कार्यक्रमहरु आयोजना गरिएको छ । बेनी शिवालय मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौथी, जनैपूर्णिमा, बालाचर्तुदर्शी, शिवरात्रीलगायतका दिनमा बिशेष पुजाआजा हुँदै आइरहेको छ ।