रक्तक्यान्सर पीडित फुलमायाको उपचारका लागि सहयोग जुट्न थाल्यो

विकल्प न्यूज/बेनी
बेनी २० माघ ।
रक्तक्यान्सरबाट पीडित म्याग्दीको ताकम ४ की ३३ वर्षिया फुलमाया भण्डारीको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुरु गरेको फुलमाया बचाउ अभियानमा स्वदेश तथा बिदेशमा रहेका म्याग्देलीहरुले साथ दिएका हुन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले मंगलबार बेनीमा पत्रकार सम्मेलन गरि अभियान सुरु गरेको जानकारी गराएको थियो ।

अभियान घोषणाकै दिन ३१ हजार रुपैयाँ सहयोग जुटेको थियो भने बुधबार बेनी कालीपुलका ब्यवसायी खेम केसी र पर्वत बेनी निवासी यातायात ब्यवसायी कुमार बरुवालले पाँच हजार एक सय रुपैयाका दरले दश हजार दुई सय रुपैया कोषलाई उपलब्ध गराउनुभएको छ ।Khem बेल्जीयममा रहनुभएका ताकमका ज्ञानबहादुर विश्वकर्माले फुलमायाको उपचारका लागि सहयोग जुटाउन अभियान सुरु गरेको जानकारी दिनुभयो । विकास नेपाल बेल्जीयम संस्थामा आवद्ध विश्वकर्माले यसअघि ताकम माविको भवन निर्माण, जिल्ला अस्पताल परिसरमा रक्तसञ्चार गृह र बेनी मल्लाज पदमार्ग निर्माणका लागि सहयोग भित्र्याउन योगदान गर्नुभएको थियो ।

यसैगरी मोना कोरीयाले पनि बुधबारदेखिनै फुलमायाको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेको जनाएको छ । अभियानका लागि कोषले दक्षिण कोरीयामा मोना कोरीयाका पदाधीकारी समेत रहनुभएका सुनेश केसीलाई संयोजनको जिम्मेवारी दिएको छ ।Fulmayaदुई छोरा र दुई छोरीकी आमा फुलमायाको हाल चितवनको भरतपुर स्थित बिपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । उनको उपचारका लागि पन्ध्र लाख रुपैया आवश्यक पर्ने अस्पतालले जनाएको छ । कतारमा रहेका फुलमायाका श्रीमान रोशन पनि स्वदेश फर्कीएर श्रीमतीको उपचारमा जुटेका छन् ।

कोषका अध्यक्ष राजेश शाक्यले भण्डारीको उपचारका लागि सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेका म्याग्देलीहरुसंग आव्हान गर्नुभएको छ । कोषले यसअघि २६ जना गरिब तथा विपन्न म्याग्देलीको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।