स्थानीय चुनावका लागि म्याग्दीमा १२ वटा दल दर्ता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ माघ ।
म्याग्दीमा आगामी स्थानीय तहको निर्वाचनका लागि १२ वटा राजनीतिक दल दर्ता भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि १२ वटा राजनितिक दलहरुले पार्टीको बिवरण बुझाएका हुन् । निर्वाचन आयोगले गत पुष २५ गते सार्वजनिक सूचना मार्फत स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा माघ १७ गतेभित्र विवरण बुझाउन आव्हान गरेको थियो ।nirbachanनेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघिय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति, अखण्ड नेपाल, नेकपा माले लगायतका दलले विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ शक्ति, नेपाल दलीत पार्टी र भुपु राष्ट्रसेवक दलले पनि बुझाएका छन् । विवरण बुझाउने मध्य ९ वटा दलले यसअघि वि.स २०७० मा भएको निर्वाचनमा भाग लिएका थिए भने तिन वटा नयाँ दल थपिएका हुन् ।

अघिल्लो निर्वाचनमा भाग लिएका सद्भावना र नेपाल परिवार दलले भने यसपाली विवरण बुझाएका छैनन् । जिल्लाका राजनितिक दलहरुको विवरण अद्यावधिक र एकिकृत गरेर आयोगमा पठाएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रत्येक राजनितिक दलको जिल्ला कार्यसमितिको अधिवेशन तथा सम्मेलन भएपछि अद्यावधिक विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने नितीगत व्यवस्था रहेको छ । तर जिल्लामा क्रियाशिल दलहरुले चुनावको बेलामा मात्र विवरण बुझाउने गरेका छन् ।