चिमखोलामा सात करोडको खानेपानी आयोजना

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ माघ ।
म्याग्दीको चिमखोलामा करिब सात करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण कार्य सुरु भएको छ ।

खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दी मार्फत छ करोड ९७ लाख ४० हजार ७१२ रुपैयाँको लागतमा बृहत चिमखोला खानेपानी तथा सरसफाई आयोजना सुरु भएको हो ।Chimkhola (3)आयोजनाबाट चिमखोलाका ४२८ घरपरिवार लाभान्वित हुने सब डिभिजन प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए । “सबै घरमा मिटर सहितको निजी धारा जडान हुनेछ्” ईञ्जिनियर केसीले भने “आयोजना अन्तरगत २ देखि ७ नम्बर वडामा ढल निकासको लागि पुर्वाधार समेत बनाइने भएको छ ।”

एक लाख, पचास हजार र चार हजार लिटर क्षमताको एकएक र पाँच हजार लिटर क्षमताको तिन वटा टंकी निर्माण हुने भएको छ । दुई वटा सार्वजनिक शौचालय समेत निर्माण गर्ने योजना छ । ११ वटा स्कीममा निर्माण हुने आयोजनाको १३ वटा मुहान रहेका छन् ।
गत आर्थिक वर्ष २०७२७३ मा सर्वक्षण भएको आयोजनाको लागि यस वर्ष तिस लाख रुपैयाँ बजेट प्राप्त भएको छ । पुर्वाधार निर्माणको काम सुरु गर्न ओमबहादुर पुनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिसंग सम्झौता भैसकेको छ ।

आयोजनामा उपभोक्ताले कुल लागतको बिस प्रतिशत एक करोड ३९ लाख ४८ हजार १४२ रुपैयाँ बराबरको श्रम र नगद सहभागिता रहने जनाइएको छ । सार्वजनिक धाराबाट खानेपानीको उपभोग गर्दै आएका चिमखोलाका बासिन्दाहरु गाउँमा बृहत आयोजना भित्रीएपछि उत्साहीत भएका छन् ।

चिमखोला बासिलाई खानेपानी समस्याबाट मुक्त गरि जिवनयापनलाई सहज बनाउन आयोजनाले ठूलो योगदान गर्ने अपेक्षा गरिएको उपभोक्ता समितिका सचिव गमबहादुर पुनले बताए । समितिका अध्यक्ष ओमबहादुर पुनले चिमखोलामा हालसम्मकै ठूलो विकास आयोजना भित्रीएको बताए ।

आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्ने अध्यक्ष पुनले प्रतिवद्धता जनाए । आर्थिक वर्ष २०७६७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताको सक्रियता भएमा लक्ष्य अघिनै र अनुमानीत भन्दा कम लागतमा आयोजना निर्माण गर्न सकिने सब डिभिजन प्रमुख केसीले बताए ।

यसैबीच चिमखोलाबाट भगवती र पिप्ले गाविसमा खानेपानी ल्याउनका लागि सञ्चालन हुन लागेको बृहत भगवती पिप्ले खानेपानी तथा सरसफाई आयोजनाको सर्वेक्षण गरि लगत ईस्टिमेट तयार पार्न लागीएको सब डिभिजनले जनाएको छ ।