तातोपानी शैक्षिक एवं धार्मीक महोत्सवको तयारी पुरा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ माघ ।
बेनी नगरपालिका १३ सिंगा तातोपानीमा बिहीबारदेखि सुरु हुने म्याग्दी बेनी तातोपानी शैक्षिक तथा धार्मीक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी पुरा भएको छ ।

सात दिन सम्म सञ्चालन हुने महोत्सवको यज्ञ स्थल, प्रवचन स्थल लगायतका पुर्वाधार निर्माण, प्रचारप्रसार, व्यवस्थापन लगायतका तयारी पुरा भएको मुल आयोजक समितिले जनाएको छ ।

तातोपानी बजार तुल ब्यानरले झकीभकाउ बनेको छ । बजारका विभिन्न ठाउँमा प्रवेशद्धार निर्माण गरिएका छन् । सरसफाई गरिएको छ । जिल्ला स्थित सरकारी अधिकारी, राजनितिक दल, चन्दा दाता, सरोकारवालाहरुको उपस्थितीमा महोत्सवको बिहीबार उद्घाटन गर्ने कार्यक्रम छ ।tatopaniतातोपानीमा रहेको सरस्वती मावीमा प्राबिधिक शिक्षाको विस्तार गर्ने, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन र शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

उद्घाटनपुर्व तातोपानी बजारमा कलशयात्रा निकालीने भएको छ । महोत्सव तथा महायज्ञबाट एक करोड पचास लाख रुपैया संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

महोत्सव सञ्चालन गर्न ६५ सदस्यीय मुल आयोजक समिति र ११ वटा उपसमिति गठन भएका छन् । सबै उपसमितिहरुले तोकिएको जिम्मेवारी अनुसारको तयारी पुरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुदत्त शर्माले जानकारी दिनुभयो ।

सो धार्मीक महोत्सवमा पण्डीत नारायण न्यौपानेले कथा बाचन गर्नुहुने कार्यक्रम रहेको छ । महोत्सवमा धार्मीक कथा वाचनका साथै योग शिवीर, शालिग्राम परिक्रमा, पुजा अर्चना, कलश यात्रा, भजन किर्तन लगायतका गतिबिधि सञ्चालन हुने आयोजकले जनाएका छन् ।
१७ जना शिक्षक कार्यरत विद्यालयमा १२ जना निजी स्रोतका छन् । प्राबि तहको मात्र दरबन्दि भएको सो विद्यालयको कक्षा ५ देखि १० सम्मको पठनपाठन सञ्चालनका लागि तातोपानी कुण्डको आम्दानी परिचालन गर्दै आइएको छ । यसैगरी स्थानीय बासिन्दाबाट चन्दा समेत संकलन हुने गरेको छ ।

धार्मीक महोत्सवबाट सञ्चालित रकम कोषमा जम्मा गरेर त्यसबाट ११ र १२ कक्षाको पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाउन लागिएको मुल आयोजक समितिका अध्यक्ष शाक्यले बताउनुभयो । विद्यालयमा हाल तिन सय जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।