सडकको माटोले बाढीको जोखिम

विकल्प न्यूज/बेनी
माघ १२ गते ।
म्याग्दीको अर्थुङ्गे देखि तोरीपानी जोड्ने सडक क्षेत्रको माटो व्यवस्थापन नहुँदा बाढी र पहिरोको जोखिम बढेको छ ।

जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पुर्वाधार निर्माण तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलीप) र कार्यक्षेत्रमा परिचालीत निर्माण कम्पनी हिमदुङ थोकर नाना जेभीको बिवादका कारण सडक विस्तारका क्रममा निस्कीएको माटो व्यवस्थापन हुन नसकेको हो ।Arthunge Toripani Roadमाटो व्यवस्थापन नहुँदा अर्थुङ्गेको बस्ती, श्रीबक्स गुल्मका साथै सदरमुकाम बेनी बाढी र पहिरोको जोखिममा परेको छ । समयमै माटो व्यवस्थापन गर्न ध्यान नदिए बर्खामा ठूलो विपद् निम्त्याउने जोखिम रहेको अर्थुङ्गेका बासिन्दा तुलबहादुर भण्डारीले बताउनुभयो ।

गत वर्षको बर्खा याममा सोही सडकबाट आएको बाढीले अर्थुङ्गे, श्रीबक्स गुल्म, बेनीको क्याम्पसचोक र मंगलाघाट क्षेत्रमा क्षत्ती पु¥याएको थियो । अर्थुङ्गे देखि तोरीपानी सम्मको सात किलोमिटर दुरीको सडक विस्तारका क्रममा निस्कीएको माटो व्यवस्थापन हुन् नसकेको हो ।
निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले सम्झौतामा माटो कहाँ लगेर फाल्ने भन्ने स्पष्ट नभएको र आयोजनाले सम्झौता कार्यान्वयन नगरेको दावी गर्नुभयो । पचास देखि पाँच सय मिटर टाढा लगेर प्रतिघनमिटर माटो व्यवस्थापन गर्दा ५६ रुपैया ५० पैसा दिने सम्झौता आयोजनाले कार्यान्वयन नगरेको कार्कीले बताउनुभयो ।

आयोजनाका व्यवस्थापक जिल्ला इन्जिनियर शिवमान श्रेष्ठले भने प्राबिधिकले सिफारीस गरेको ठाउँमा माटो व्यवस्थापन गर्ने दायीत्व ठेकेदारको भएको र असारमा भएको सम्झौताको म्याद काम नगरेपछि उतिबेलै सकिएको बताउनुभयो ।

असार साउनमा बाढीको समस्या देखिएपछि माटो ब्यवस्थापन गर्न सम्झौता गरेपनि ठेकेदारले सो अनुसारको काम नगरेको र सो सम्झौताको म्याद त्यतीबेलै सकिएको इञ्जिनियर श्रेष्ठले बताउनुभयो ।

सम्झौता अनुसार ठेकेदारले आयोजनाले देखाएको ठाउँमा माटो व्यवस्थापन गर्नुपर्ने श्रेष्ठको भनाई छ । प्राबिधिक टोलीले सो सडकको माटो व्यवस्थापन गर्न तोरीपानी स्थित गलेश्वर माविको खेलमैदान, सानो सल्लेरी सामुदायीक वन क्षेत्र र बेनीको बधस्थलदेखि म्याग्दीखोला पुल क्षेत्रको ठाउँ सिफारीस गरेको छ ।

सिफारीस गरिएको ठाउँ सडक सम्बन्धि निकायको मापदण्ड भन्दा टाढा भएको निर्माण व्यवसायीको तर्क छ । २०७३ भदौ २ गतेसम्म छ करोड १५ लाख ४९ हजार ९८४ रुपैयाँमा सम्पन्न गर्ने सम्झौता भएको आयोजनाको माटो व्यवस्थापनको बिवादका कारण सोलीङ र ग्राभेल गर्ने काम अघि बढ्न सकेको छैन् ।

हाल कच्चि अवस्थामा रहेको उक्त सडकलाई चार मिटर फराकीलो बनाउने, नाली निर्माण गर्ने, घुम्ती तथा मोड सुधार गरि ग्राभेल गर्न योजना सञ्चालन भएपनि सन्तोषजनक काम हुन नसकेको सर्वसाधारणले गुनासो गरेका छन् ।