तरकारी खेतीले बनायो आत्मनिर्भर

विकल्प न्यूज/बेनी
माघ १२ गते ।

केही वर्षअघिसम्म पैसा आवश्यक पर्दा श्रीमान, आफन्त र छिमेकीलाई माग्ने म्याग्दीको बाबियाचौर गाविस ८ रणवाङकी हिरा सुवेदीलाई अहिले त्यस्तो समस्या छैन् ।

व्यवसायिक तरकारी खेतीपछि सुवेदीले आफू र घरपरिवारलाई आवश्यक पर्ने रकम जुटाएर बचत समेत गर्न थाल्नुभएको छ । “दुई चार रुपैया आवश्यक पर्दा समेत श्रीमान, आफन्तलाई माग्न र ऋण खोज्नुपर्ने अवस्था थियो” सुवेदीले भन्नुभयो “तरकारी खेती गर्न थालेपछि घरखर्च पु¥याएर पनि बचत गर्न थालेकी छु । सजिलो भएको छ ।”Ranabang Tarkariदुई रोपनी क्षेत्रफल जमिनमा विगत तिन वर्षदेखि मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएकी सुवेदीले वार्षिक एक लाख पचास हजार रुपैया सम्म आम्दानी गर्नुहुन्छ । बन्दा, काउली, गोलभेडा, मुला, साग, गाजर, धनीया, आलु लगायत मौसमी र बेमौसमी बेचेर भएको आम्दानीले घरखर्च चलाउन, छोराछोरी पढाउन सजिलो भएको सुवेदीले बताउनुभयो ।

सुवेदी मात्र होईन् रणवाङका महिलाहरु व्यवसायिक तरकारी खेतीबाट आम्दानी गर्न थालेपछि आत्मनिर्भर बनेका छन् । स्थानीय वुद्धीमाया बिकले तरकारी खेतीबाट आम्दानी हुन थालेपछि घरमा नुनतेल किन्न बिदेशमा रहेका श्रीमानलाई पैसा पठाउन र पैसा आवश्यक पर्दा ऋण खोज्नुपर्ने समस्या हटेकोमा खुसी व्यक्त गर्नुभयो ।

हिरा र बुद्धीमायासंगै रणवाङका पद्मकुमारी मल्ल, सावित्रा बिक, गोमा भण्डारी र हरिमाया बिक लगायतका करिब दश जना महिलाहरुले ब्यवसायीक तरकारी खेती गरेका छन् । उनिहरुले दुई देखि तिन रोपनी जमिनमा काउली, बन्दा, गोलभेडा, साग, मुला, आलु लगायतका तरकारी खेती गरेका छन् ।

उनिहरुले वर्षमा एक देखि तिन लाख रुपैयाँ सम्मको तरकारी बिक्री गर्छन् । बाबियाचौर, तातोपानी र दरवाङमा लगेर तरकारी बिक्री गर्दै आएका रणवाङका कृषकले यातायातका साधनमा पहुँच नहुँदा तरकारी ढुवानी गर्न समस्या परेको बताएका छन् ।

आफैले तरकारी बोकेर बजार पुग्नुपर्दा धेरै समय लाग्ने, दुख हुने र भनेको मूल्य नपाउने समस्या रहेको कृषक हरिमाया बिकले बताउनुभयो । पर्याप्त सिचाई सुबिधा भएकाले तरकारी खेती गर्न भने सजिलो भएको कृषकहरुको भनाई छ ।

महिला सहकारी संस्थामा आवद्ध उनिहरुले तरकारी बेचेर भएको आम्दानी सहकारी संस्थामा बचत गर्छन् । उनिहरुले सहकारी संस्थाबाट ऋण लिएर तरकारी खेती सुरु गरेका थिए । त्यहाँका कृषकलाई तरकारी खेतीका लागि जिल्ला कृषि विकास कार्यालय, लद्युउद्यम विकास कार्यक्रम र सहमती संस्थाले प्राबिधिक सहयोग गरेका छन् ।