कृषि बिमा लक्षित वर्गसम्म पुगेन

विकल्प न्यूज/बेनी
माघ ११ गते ।

बाबियाचौर ८ रणवाङकी वुद्धीमाया बिकले विगत ५ वर्षदेखि दुई रोपनी भन्दा बढी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीलाई मुख्य आयस्रोत बनाएकी विकको बाली बिमा गर्ने इच्छा पुरा हुन सकेको छैन् ।

“बाली बिमा गरेमा असिना, खडेरी, रोगकिराले सताउँदा क्षतिपुर्ती पाउने सुनेकी छु” विकले भन्नुभयो “कहाँ र कसरी भन्ने जानकारी नहुँदा बिमा गरेको छैन् ।” बेनी नगरपालिका १४ सुर्केमेलामा एक दशकदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका भिमबहादुर बानियाँलाई बालीको बिमा हुन्छ भन्ने जानकारी समेत छैन् ।Bali Ra Pasu Bimaमौसमी र बेमौसमी तरकारी खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाएका बानियाँ बाली बिमाको प्रक्रिया र फाईदाको बारेमा जानकारी नभएको बताउँनुहुन्छ । बेनपा १ लामगराका कृषक कमल थापाले कृषि बिमाको महत्व बुझेर बिमा गर्न चाहेपनि सो सुबिधा पाउनुभएको छैन् ।

“बिमा कम्पनीको कार्यालयमा जाँदा प्रतिनिधि भेटिदैनन्, खेतबारीमा आउदैनन्” थापाले भन्नुभयो “सहज पहुँच नहुँदा कृषि बिमा कार्यक्रमबाट कृषकले सुबिधा पाउन सकेका छैन् ।” ग्रामिण क्षेत्रका अधिकांश कृषकहरु बिमा सुबिधाको बारेमा बेखबर हुन जाने बुझेकाले पनि बिमा गर्न नसक्दा म्याग्दीमा तिन वर्षअघि लागू भएको कृषि बिमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन् ।

बिमा कम्पनीको बेवास्ता, बिमा प्रतिनिधिको निश्क्रियता, कृषकहरुनै बिमाको बारेमा बेखबर हुनु र सम्बन्धित निकायहरुबीच समन्वयको कमीका कारण कृषि बिमा कार्यक्रममा लक्षित वर्गको पहुँच पुग्न नसकेको हो । ग्रामिण क्षेत्रका अधिकांश कृषकहरुले बिमा गर्ने र क्षतिपुर्ती पाउने प्रक्रियाको बारेमा अनभिज्ञ रहेको बताएका छन् ।

बिमाको महत्व र फाईदाको बारेमा जानकारी पाएका सदरमुकाम आसपासका कृषकहरुले समेत कम्पनीमा पहुँच नहुँदा बिमा गर्न नपाएको लामगराका अगुवा कृषक थापाले बताउनुभयो । म्याग्दीमा कृषि बिमा कार्यक्रम सञ्चालन गर्न सरकारले वि.स २०७१ मा प्रभु ईन्सुरेन्स कम्पनीलाई जिम्मेवारी दिएको थियो ।

सम्झौता गरेको एक वर्षपछि वि.स २०७२ मा कार्यालय स्थापना गरेको कम्पनीले अपेक्षाकृत सेवा दिन नसकेको कृषक र सम्बद्ध कार्यालयको गुनासो छ । दुई जना कृषकले दुई लाख बिस हजार रुपैयाँ बराबरको तरकारीको बिमा गरेका थिए । यसैगरी एक हजार ५८३ वटा पशुपंक्षीको १५ करोड ७० लाख रुपैयाँ बराबरको बिमा भएको थियो ।

२०७३ भदौसम्म एक हजार ४५० कुखुरा, ११२ वटा बाख्रा, ११ वटा खच्चर, पाँच पाँच वटा गाईभैसीको बिमा भएको थियो । कृषकहरुले ४७ लाख १६७ रुपैया प्रिमीयम शूल्कमा ७५ प्रतिशत अनुदान पाएका थिए ।

कृषकहरु जागरुक र आकर्षित भएपनि अन्य जिल्लाको तुलनामा म्याग्दीमा कृषि बिमा अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो । बिमा कम्पनीका प्रतिनिधिको निश्क्रियताका कारण केही महिनादेखि कृषकहरुले बिमा गर्न नपाएको गुनासो बढेको पुनले बताउनुभयो ।

कृषि बिमाको बारेमा कार्यालयले आयोजना गर्ने तालीम, गोष्ठि, भेटघाट मार्फत कृषकहरुलाई जानकारी गराइदै आएको कृषि र पशु सेवा कार्यालयले जनाएका छन् । खाद्यान्न, फलफुल र तरकारी बाली तथा पशुपंक्षीको बिमा गर्नका लागि सरकारले प्रिमीयम शूल्कमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

बिमा गरेको बाली र पशुपंक्षीको क्षति भएको अवस्थामा कृषकले ९० प्रतिशत दावी भुक्तानी पाउने व्यवस्था छ । कृषि बिमा निश्चित अवधिको लागि हुने गर्छ । खेतीबालीको हकमा बाली लगाउदेखि नभित्र्याउँदासम्म र पशुचौपायाको एक वर्ष सम्मको बिमा हुने गर्छ । बैङ्क तथा वित्तिय संस्थाले कर्जा लगानी गर्न बिमा गरेको फर्म खोज्न थालेका छन् ।

यसअघिका कर्मचारीको कारण समस्या कृषि बिमाले गति लिन नसकेपनि अब कृषकको घरदैलोमा पुग्ने तयारी गरेको प्रभु ईन्सुरेन्स कम्पनीका प्रतिनिधि जुजुमान श्रेष्ठले बताउनुभयो । कृषि र पशु सेवा कार्यालय तथा प्राबिधिकहरु मार्फत कृषि फार्ममा पुग्न थालेको हालै म्याग्दीमा आएका श्रेष्ठले बताउनुभयो । यसअघि कम्पनीको प्रतिनिधि धु्रब चोखाल थिए ।

कृषि बिमा गर्दा प्रकोप, रोग लगायतका कारण बाली र पशुधनमा हुने क्षतिको हानी न्युनीकरण भई कृषकलाई व्यवसायलाई निरन्तरता दिन सघाउ पुगी कृषिको व्यवसायीकरणमा टेवा मिल्ने अपेक्षा गरिएको छ । बिमा गरेको बाली र पशुपंक्षिमा ट्याग लगाउने गरिन्छ । कुनै कारणले बिमीत पशुपंक्षि र बालीको क्षति भएमा कृषि प्राबिधिक र बिमा अभिकर्ताको टोलीले मूल्याङ्कन गर्ने प्रक्रिया छ ।