मुटुरोगी बालीकाको उपचारका लागि प्रवासीद्धारा सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ११ माघ ।
बेनी नगरपालिका २ अर्जमकी अरुनीमा नेपालीको उपचारका लागि प्रवासीहरुले मंगलबार आर्थिक सहयोग गरेका छन् ।

आठ वर्षिय नेपालीको मुटुमा परेको प्वालको शल्यक्रियाका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा हङकङमा रहेका म्याग्देलीले असी हजार रुपैया सहयोग गरेका हुन् ।IMG_1363म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष ईन्द्र एलजी थापाले कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव लोकेश पुन मार्फत अरुनीमाका काका भुपेन्द्र नेपालीलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

अरुनीमाको उपचारका लागि हङकङमा रहेका १७ जना म्याग्देलीले सहयोग गरेका हुन् । परिवारको कमजोर आर्थिक अवस्था भएकी गंगालाल हृदयरोग केन्द्र काठमाडौमा अप्रेशन गरिएको छ । परियारको उपचारका लागि कोषले सञ्चालन गरेको आर्थिक संकलन अभियानमा देश बिदेशबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

यसैगरी हङकङमा रहेका नौ जना नेपालीहरुले पचास हजार रुपैया सहयोग गरेर शान्ति कोषको आजिवन सदस्यता लिएका छन् । गरिबी र विपन्नताका कारण औषधि उपचार गराउन नसकेका म्याग्देलीलाई सघाउने उद्देश्यले स्थापित कोषले पाँच हजार पाँच सय रुपैया सहयोग गर्नेलाई आजिवन सदस्यता प्रदान गर्दै आएको छ ।