धौलागिरि सेञ्चुरी पदमार्गको शुभारम्भ

सन्तोष गौतम/विकल्प न्यूज
काठमाडौ २१ पुस ।
म्याग्दीको रघुगंगा क्षेत्रको फन्को लगाउने धौलागिरि सेञ्चुरी पदमार्ग सञ्चालनमा आएको छ ।

बेनी देखि आठ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दक्षिणी आधार शिवीरसम्म पुग्ने पदमार्गको म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नक्सा सार्वजनिक गरेर शुभारम्भ गर्नुभएको हो ।dhaulagiri-1 शुभारम्भ कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण आधार भएको बताउनुभयो । पर्यटनको माध्यमबाट रोजगारी सिर्जना, समुदायको आयआर्जन वृद्धी र राज्यको आम्दानी बढाएर देशलाई सम्बृद्ध बनाउन सकिने बताउँदै उपाध्यक्ष श्रेष्ठले पर्यटन सम्भावनाको पहिचान र प्रर्वद्धनमा जोड दिनुभयो ।

बजेट बिनियोजन हुने तर खर्च नहुने समस्या नेपालको विकासमा जटिल समस्याको रुपमा देखिएको बताउँदै उपाध्यक्ष श्रेष्ठले बिनियोजन भएको बजेटको सदुपयोग र परिचालनमा समुदाय सचेत र सक्रिय बन्नुपर्ने बताउनुभयो ।

सांसद नवराज शर्मा र नरदेवी पुनले म्याग्दीको ओझेलमा परेको पर्यटन क्षेत्रको विकासका लागि पुर्वाधार निर्माणसंगै प्रचारप्रसारमा जोड दिनुभयो । उहाँहरुले म्याग्दीलाई हिमाली जिल्लाको रुपमा स्थापित गरेर राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । धौलागिरी, अन्नपूर्ण, गुर्जा लगायत म्याग्दीमा रहेका हिमालको रोयल्टी म्याग्दीलेनै पाउनुपर्ने सांसदद्धयको माग थियो ।dhaulagiriट्रेकिङ एजेन्जिस एशोसियसन (टान)का अध्यक्ष चन्द्र रिजालले सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा नयाँ रुटको खोजीसंगै त्यसको प्रर्वद्धन र पुर्वाधार निर्माणमा जोड दिनुभयो ।

संघ, नेपाल पर्यटन बोर्ड, जिविस, ट्रेकीङ एजेन्जिस एशोसियन अफ नेपाल (टान), गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोभ), प्रवासी नेपाली म्याग्देली संघ (मोना)को सहयोगमा हिमालयन म्याप हाउसले पदमार्गको नक्सा तयार पारेको हो ।img_0063पदमार्गको प्रर्वद्धनका लागि म्याग्दी उद्योग वाणिज्य संघले पर्यटन बोर्डमा तस्विर प्रर्दशनी समेत आयोजना गरेको छ । तिन दिनसम्म सञ्चालन हुने प्रर्दशनीमा पवन शाक्य र अमृत भादगाउँलेले धौलागिरी सेञ्चुरी पदमार्गमा खिच्नुभएका ६० वटा तस्विर रहेका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षता तथा स्वागत, महासचिव राजेश शाक्यको सञ्चालन र बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले समापन गर्नुभएको कार्यक्रममा म्याग्दी चौतारी काठमाडौका अध्यक्ष नरबहादुर बिसी र राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका प्रतिनिधि दिप छन्त्यालले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।