प्रेस युनियनले निशुल्क मृगौला परिक्षण शिविर सञ्चालन गर्ने

विकल्प न्यूज/बेनी
पुस २० गते ।
प्रत्येक नेपालीको मृगौला परिक्षण गर्ने स्वास्थ्य मन्त्रालयको देशव्यापी अभियानलाई सफल बनाउने उद्देश्यले प्रेस युनियन म्याग्दी शाखाले एकदिने निशुल्क मृगौला परिक्षण शिविर सञ्चालन गर्ने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीसंग सहकार्य गरेर पत्रकार/सञ्चारकर्मीका लागि शुक्रबार बिहान सात बजेदेखि जिल्ला अस्पताल परिसरमा उक्त शिविर सञ्चालन गर्न लागेको हो । शिविरका क्रममा म्याग्दी जिल्लामा कार्यरत पत्रकार/सञ्चारकर्मीको निशुल्क मृगौला परिक्षण गरिने युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले जानकारी दिए ।

अस्पतालले हरेक नागरिकका लागि निशुल्क परिक्षण व्यवस्था गरेको जानकारी दिने उद्देश्यले युनियनसँग सहकार्य गरेर शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

यसैबीच, बुधबार बेनीमा बसेको प्रेस युनियनको वैठकले हरेक महिनाको अन्तिम शनिबार समयसामयिक विषयमा ‘युनियन साक्षात्कार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाको आर्थिक, सामाजिक, राजनैतिक, विकास निर्माण सम्बन्धित सरोकारवाला निकायलाई थप जवाफदेही बनाउने उद्देश्यले सरोकारवाला निकायसँग साक्षात्कार कार्यक्रम गर्न लागिएको युनियनले जनाएको छ ।