सुन्तलामा सम्भावना

सन्तोष गौतम/विकल्प न्यूज
पुस २० गते ।
भकिम्ली २ मरेकका इन्द्रबहादुर थापाले दशक अघिसम्म पाँच रोपनी पाखोबारीमा कोदो लगाएर बर्षमा मुस्कीलले तिन मुरी उत्पादन गर्नुहुन्थ्यो । कोदो बेच्दा तिन हजार रुपैयाँ मूल्य पर्दथ्यो । “उत्पादन भएको अन्न बिक्री गर्न समेत गाहे थियो” थापाले विगत सम्झनुभयो “खेतालाको ज्याला, बिउ, समय र श्रम हिसाव गर्दा घाटा हुन्थ्यो ।”

तिन मुरी कोदो फल्ने जग्गामा सात वर्षअघि २५० बोट सुन्तला लगाएका थापाले यसपाली ९० हजार रुपैयाँ आम्दानी गर्नुभयो । बगैचाबाटै प्रतिकिलो ४५ रुपैयाँका दरले सुन्तला बेचेका थापाले धान खेतमा थप दुई सय वटा बिरुवा लगाउनुभएको छ ।dsc00722मरेककै धना थापाको बारीमा रहेका २०० मध्य १६४ वटा बोटमा यसपाली चार हजार किलोग्राम सुन्तला फल्यो । “पोखराबाट आएका ब्यापारीले एक लाख असी हजार रुपैयाँ खनखनी गनेर बगैचामै सुन्तला किनेर बजार पु¥याए” थापाले भन्नुभयो ।

मरेकका इन्द्रबहादुर र धना मात्र होइन सुन्तला खेती गरेका म्याग्दीका कृषकहरु राम्रो आम्दानीले उत्साहीत र दंग समेत परेका छन् । “एउटै रुखमा तिन हजारको सुन्तला फल्यो” कृषक थापाले भन्नुभयो “हाम्रो जिवनमा सुन्तला खेतीले नसोचेको परिवर्तन ल्याएको छ ।”baskharka-orange-4थोरै लगानी र सजिलो तरिकाले गर्न सकिने सुन्तला खेतीले कृषकको जिवनमा सुखको दिन फिरेका छन् । “बाह्ै महिना श्रमपसिना बगाउँदा हुने उब्जनीले घरमै खान ठिक्कै हुन्थ्यो” मरेकका कर्णकुमारी पुर्जाले भन्नुभयो “सुन्तला खेती गरेपछि घरमा खान पनि पुगेकै छ, आम्दानी पनि भएको छ ।”

करिब तिस रोपनी जग्गा भएकी उहाँले पन्ध्र रोपनीमा अन्नबाली र बाँकीमा सुन्तला लगाउनुभएको छ । बेनी बजारमा बस्दै आएका मरेकका पदमबहादुर खत्रीले पुख्यौली खेतबारीमा २२० बोट सुन्तला लगाउनुभएको छ । यसपाली दुई लाख रुपैयाँको सुन्तला बेचेका खत्री बजार बस्न थालेपछि बाँझीने अवस्थामा रहेको जग्गालाई सुन्तला खेती गरेर सदुपयोग गरेको बताउनुहुन्छ ।

“बजारमा बस्न थालेपछि खेतबारी बाँझीने अवस्था थियो, सुन्तला लगाएपछि जग्गाको सदुपयोगसंगै आम्दानी पनि राम्रै भएको छ” खत्रीले भन्नुभयो “सुन्तलालाई अन्नजस्तो बाह्ै महिना स्याहार, सुसार र रेखदेख गर्न परेन, दुई महिना ध्यान दिए पुग्छ ।”baskharka-orange-5१८ घरधुरीको बसोबास रहेको मरेक गाउँबाट यस वर्ष पन्ध्र लाख रुपैयाँ बराबरको सुन्तला निकासी हुने अनुमान गरिएको छ । गाउँभरी रहेका दश हजार मध्य पाँच हजारमा फल लागेको छन् । भकिम्लीको छिमेकी बरंजा गाविसको ३, ४ र ९ नम्बर वडाबाट हालै तेह् हजार ४५६ केजी सुन्तला पोखराको बजारमा निकासी भयो । ब्यापारी गाउँमै आएर सुन्तला खरिद गरेर लगेका बरंजा ४ का अगुवा कृषक कृष्णलाल सापकोटाले जानकारी दिनुभयो ।baskharka-orange-1सुन्तला बिक्रीबाट गाउँमा साढे पाँच लाख रुपैयाँ भित्रीएको सापकोटाले जानकारी दिनुभयो । बरंजा ४ दहमा ११ घरपरिवार कृषकले व्यवसायिक सुन्तला खेती गरेका छन् । सुन्तला बिक्री गरेर एक जना कृषकले बाह् हजार आठ सय देखि एक लाख ३५ हजार रुपैयाँ सम्म आम्दानी गरेका छन् ।
“युवा जती बिदेश गएका छन्, काम गर्ने मजदुर पाईदैन” बरंजाका मोहनलाल कडेलले भन्नुभयो “थोरै श्रम, सजिलो र छिटो आम्दानी गर्न सकिने भएकाले अन्नबाली छोडेर सुन्तला खेती गरेको हुँ ।” रसीलो र स्वादीला सुन्तला फलायका कृषकहरुको मन पनि फुरुङ्ग बनेको छ ।baskharka-orange-4गाउँ गाउँमा सडक विस्तार भएसंगै सुन्तलाले बजार पाउन थालेको हो । दशक अघिसम्म म्याग्दीका सुन्तला स्थानीय बजारमै सिमित थियो । माघसम्म बोटमै राख्दा समेत सून्तलाले उचित मूल्य पाउने थिएन् । अहिले पोखरा, काठमाडौ, चितवन लगायतका जिल्लामा निकासी हुने गरेको छ । ब्यापारी सुन्तला खोज्दै पैसाको बिटो बोकेर कृषकको घरदैलोमै आईपुग्छन् ।

आफै टिपेर लैजान्छन् । भनेजती मूल्यमा बगैचाबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहीत भएका हुन् । म्याग्दीको सुन्तला अन्य ठाउँको भन्दा स्वादीलो, रसिलो र गुणस्तरीय भएकाले बजारमा माग बढेको ब्यापारीहरु बताउँछन् । आकर्षक दाना, रसिलो र गुलीयो स्वादका कारण ब्यापारी र उपभोक्ताले म्याग्दीको सुन्तला रुचाएका हुन ।

पोखरामा पु¥याउँदा प्रतिकेजी सुन्तला ६५ र काठमाडौमा प्रतिकेजी ७५ रुपैयाँका दरले मूल्य पाईने भकिम्ली राखुका ब्यापारी खिम पुनले बताउनुभयो । उहाँका अनुसार राखुबाट यस वर्ष पन्ध्र लाख रुपैयाँको तिस मेट्रिक्टन सुन्तला निकासी भएको छ । बास्कुना, राखु, मरेक, बरंजा, झोर्लेनी, बिम, रुन्मा, ओखरबोट, ताकम र हिस्तानमा उत्पादीत सुन्तला जिल्ला बाहिर निकासी भएको छ ।

पर्यटकीय क्षेत्र घार, नारच्याङ, दाना र भुरुङ तातोपानीका कृषकले बढी मूल्य पार्न ढिलागरी टिप्ने र रस्टीक स्टोरमा भण्डारण गरेर सुन्तला बेच्ने गरेका छन् । गत वर्ष दुई हजार ८४ मेट्रिक्टन सुन्तला उत्पादन भएको म्याग्दीबाट छ करोड ७२ लाख रुपैयाँ बराबरको एक हजार ५०१ मेट्रिक्टन सुन्तला निकासी भएको थियो । यसपाली गत वर्षको तुलनामा सात प्रतिशत बढी दुई हजार ४७३ मेट्रिक्टन सुन्तला उत्पादन हुने अनुमान गरिएको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।

अनुकुल मौसम, बगैचा सुदृढीकरण, क्षेत्रफल विस्तारका कारण सुन्तला उत्पादन बढेको हो । ६८५ हेक्टर जमिनमा सुन्तला खेती भएको म्याग्दीमा हाल २८५ हेक्टर क्षेत्रफलमा रहेका बोटले फल दिने गरेका छन् । म्याग्दीको देविस्थान, ताकम, बिम, बरंजा, भकिम्ली, कुहुँ, सिंगा, घतान, पिप्ले, भगवती, पात्लेखेत, बेग, दोवा, हिस्तान, भुरुङ तातोपानी, नारच्याङ, घार, दाना र ओखरबोट सुन्तला खेतीको लागि पकेट क्षेत्र हुन् ।orange 2जिल्लाभर व्यवसायिक सुन्तला खेती गर्ने कृषकको संख्या दुई सय जना भन्दा बढी छ । सुन्तला खेतीका लागि सिँचाइको आवश्यकता रहेको कृषकहरुको भनाई छ । यसैगरी बोट सुक्ने र दाना झर्ने समस्या पनि सुन्तला खेतीमा देखिएको अर्को समस्या हो । सुन्तला खेतीका लागि अनुकुल भुगोल, हावापानी भएको म्याग्दीमा सडक र बजार विस्तारसंगै यसप्रती आकर्षण बढेको छ ।

समुन्द्री सतहदेखि आठ सय देखि एक हजार दुइ सय मिटरको उचाईको भुगोलमा सुन्तला खेती गर्न सकिन्छ । पुस, माघ र असार सुन्तलाको बिरुवा लगाउने याम हो । रोगबाट बचाउन समयमै फल टिप्न र बगैचाको सरसफाइमा ध्यान दिनुपर्ने कृषि प्राबिधिकको सल्लाह छ । कृषि विकास कार्यालयले अनुदानमा बिरुवा वितरण गर्दै आएको छ ।
बढ्दो खेतीयोग्य जमिनलाई सदुपयोगमा ल्याउन सुन्तला खेती उपयुक्त विकल्प भएको राप्रपाका नेता समेत रहेका मरेकका कृषक बिरबहादुर थापा क्षेत्रीको भनाई छ । सिँचाइको प्रबन्ध र बजारलाई व्यवस्थित गर्न सकेमा सुन्तला खेती मार्फत बाँझीएको जमिनलाई उपभोगमा ल्याउनुका साथै कृषकहरुको आम्दानी वृद्धि र रोजगारी सिर्जनाको सम्भावना रहेको थापाको भनाई छ ।orange-1म्याग्दीमा सम्भावना बोकेको सुन्तलाको प्रर्वद्धनका लागि कृषि विकास कार्यालयले बगैचा सुदृढीकरण अभियान मार्फत पुराना र रोगी बिरुवाको उपचारमा सहयोग गरेको छ । कृषकहरुलाई फल टिप्ने, काँटछाँट गर्ने औजार र मलमा अनुदान दिएको छ । स्थलगत प्राबिधिक तालीम दिएको छ । यस वर्ष बजार प्रर्वद्धन गर्ने उद्देश्यले कार्टुन छपाइ गरेर समेत वितरण गरेको बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।