म्याग्दी क्याम्पसको शूल्क वृद्धि निर्णय कार्यान्वयन नगर्ने सहमती

सन्तोष गौतम/विकल्प न्यूज
बेनी, १९ पुस ।
म्याग्दी बहुमुखी क्याम्पसमा तिन महिनाअघि गरिएको मासिक शूल्क बढाउने निर्णय स्थगित भएको छ ।
क्याम्पस सञ्चालक समितिको गत असोज १२ गते बसेको बैठकले स्नातक तहमा मासिक शूल्क ६२५ बाट बढाउने निर्णय गरेको थियो । समितिले क्याम्पसका प्रध्यापक कर्मचारीहरुको तलब सुबिधासंगै विद्यार्थीको मासिक शूल्क वृद्धी गर्ने निर्णय गरेपछि अनेरास्ववीयुको नेतृत्वमा विद्यार्थीहरुले विभिन्न चरणमा आन्दोलन गरेका थिए ।campush 12प्रथम बर्षमा ८ सय, दोस्रो बर्षमा ९ सय, तेस्रो बर्षमा एक हजार र चौथो बर्षमा एक हजार १०० रुपैया कायम गर्ने निर्णय मंगलबार सञ्चालक समिति र आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधिबीच सहमती भएको हो ।

क्याम्पसमा भएको सर्वपक्षिय बैठकले तत्कालको लागि शुल्क बृद्धिलाई स्थगन गर्ने निर्णय गरेको क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँले सञ्चालक समितिले पुनः अन्य विकल्पहरुको समेत खोजि गरि सम्बद्ध सरोकारवालासंग छलफल गरि शुल्क समायोजन गर्ने बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, राजनितिक दलका प्रतिनिधि, विद्यार्थी संगठनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी प्रेमराज गिरी लगायतको सहभागिता रहेको थियो ।

शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिन दवाव दिन विभिन्न किसीमका आन्दोलनको नेतृत्व गरेको अनेरास्ववियकी नेता सावित्री खत्रीले विद्यार्थी आन्दोलन सफल भएको बताउनुभयो । ज्ञापनपत्र, तालाबन्दी, धर्ना लगायतका दवावमुलक कार्यक्रमको परिणाम शूल्क वृद्धि गर्ने निर्णय स्थगित भएको उहाँले बताउनुभयो ।

शूल्क समायोजनका लागि सञ्चालक समितिका कोषाध्यक्ष सोमनाथ ढुङ्गानाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ । सहमती पछि क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षको कार्यकक्षमा लगाईएको ताला खोलेका छन् ।