निशूल्क स्वास्थ्य शिवीरबाट तिन हजार जना भन्दा बढी लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज
मुना १८ पुष ।
म्याग्दीको दुर्गम क्षेत्रमा सञ्चालीत निशूल्क स्वास्थ्य शिवीरबाट तिन हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।dsc09290म्याग्दी सामुदायिक विकास परियोजना लागू भएको गुर्जा, लुलाङ, मुना, मुदी र मराङ गाविसमा चार दिनसम्म सञ्चालन भएको शिवीरबाट तिन हजार दुई सय जनाले गाउँमै स्वास्थ्य सेवा पाएका हुन् ।

गुड नेवर्स ईन्टरनेशनलको आर्थिक र जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा कालीगण्डकी सामुदायीक विकास मञ्च (कदम)को आयोजनामा पुष १४ गते गुर्जा र मुदीबाट सुरु भएको शिवीर सोमबार सकिएको हो ।

शिवीरमा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सेवा दिइएको कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तिन लाख ८५ हजार रुपैया मूल्य बराबरको औषधि निशूल्क वितरण गरिएको छ ।

जिल्ला अस्पतालका चिकित्सक बिबेक पौडेल र शिशीर अधिकारीको नेतृत्वमा रहेको १३ जना स्वास्थ्यकर्मीको दुई वटा टोलीले सात ठाउँमा शिवीर सञ्चालन गरेको थियो । गुर्जा, लुलाङ, मुना, फलीयागाउँ, मुदी, खिवाङ, मराङ र आरवाङमा एकएक दिन शिवीर सञ्चालन गरिएको थियो ।

छाला, आँखा, कान र स्वासप्र्रस्वास सम्बन्धि समस्या भएका बिरामीहरु बढी आएका शिवीरमा सहभागी स्वास्थ्यकर्मीहरुले बताएका छन् । बिशेष गरेर आँखा सम्बन्धि समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिवीर सञ्चालन भएको हो ।

भौगोलिक बिकटता, आर्थिक अभाव लगायतका कारणले सदरमुकाम र जिल्लाबाहीरका अस्पतालमा पुगेर स्वास्थ्य सेवा लिन नसकेका सर्वसाधारणको सुबिधाका लागि शिवीर सञ्चालन गरिएको कदमका अध्यक्ष पौडेलले बताउनुभयो ।