शूल्क वृद्धीको निर्णय फिर्ता लिन माग गर्दै अनेरास्ववीयु धर्नामा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, १७ पुष ।
म्याग्दी बहुमुखी क्याम्पसको मासिक शुल्क बृद्धी गर्ने निर्णय फिर्ता गर्नुपर्ने माग गर्दै एमाले निकट अनेरास्ववीयुका कार्यकर्ताहरु आईतबार क्याम्पसको मुख्य प्रवेशद्धारमा धर्ना बसेका छन् ।
क्याम्पस सञ्चालक समितिको २०७३ असोज १३ गते बसेको बैठकले स्नातक तहमा मासिक शुल्क ६७५ बाट बढाएर प्रथम वर्षमा आठ सय, दोस्रो वर्षमा नौ सय, तेस्रो वर्षमा एक हजार र चौथो वर्षमा एक हजार एक सय कायम गर्ने निर्णय गरेपछि अनेरास्ववीयुको म्याग्दी क्याम्पस मुल ईकाई कमिटिले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।dsc09224क्याम्पसमा यसअगाडि भर्ना शुल्क तीन हजार दुई सयबाट बढाएर चार हजार दुई सय बनाइएको थियो । बढेको मासिक शूल्क फिर्ता लिन दवाव दिदै आईतबार बिहान नौ देखि दिउँसो साढे चार बजेसम्म क्याम्पसको मुख्य प्रवेशद्धारमा धर्ना बसेको अनेरास्ववीयुकी नेता आशिका मल्लले बताउनुभयो ।

उनिहरुले प्रवेशद्धारमा धर्ना बसेर क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठलाई क्याम्पसबाट बाहिर निस्कन दिएका थिएनन् । तत्कालै शूल्क वृद्धी फिर्ता लिने निर्णय गर्नुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठलाई क्याम्पसबाट बाहिरीन नदिएका विद्यार्थी र सञ्चालक समितिबीच मंगलबार बैठक बसेर छलफल गर्ने सहमती भएको छ ।

क्याम्पसको प्रवेशद्धार बाहिर दिनभर सुरक्षाकर्मी परिचालन भएका थिए । सुरक्षा सर्तकर्ता अपनाइएको थियो । नेकपा एमाले म्याग्दीका लेखा समितिका संयोजक चन्द्र कुमार केसीले अनेरास्ववीयुको क्याम्पस ईकाईका नेता, सञ्चालक समिति र क्याम्पस प्रशासनबीच सहजिकरण गर्नुभएको थियो ।

सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले प्रध्यापक कर्मचारीको तलबभत्ता र सुबिधा बढेअनुसार समयसापेक्ष रुपमा शूल्क बढाउने विषयमा सरोकारवालाहरुको छलफलबाटै निर्णय भएकाले फिर्ता लिने विषयमा आफूले एक्लै निर्णय गर्न नसक्ने बताउनुभयो । उहाँले क्याम्पस सञ्चालनको अन्य स्रोत नभएको र घाटामा रहेकाले शूल्क बढाउनु सञ्चालक समितिको बाध्यता रहेको बताउनुभयो ।

गुणस्तर वृद्धी गर्ने र विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि पठनपाठन गराउन प्रतिवद्ध रहेको क्याम्पस सञ्चालक तथा प्रशासनको भनाई छ । अनेरास्ववीयु म्याग्दी क्याम्पस ईकाई समितिका अध्यक्ष ईशवर सुवेदीले क्याम्पस सञ्चालनको बैकल्पीक स्रोत खोज्नुपर्ने तर गरिब, विपन्न समुदायका विद्यार्थीले पढ्ने क्याम्पसमा शूल्क बढाउन नहुने अडान दोहोराउनुभयो ।

क्याम्पस प्रमुख र अध्यक्षको कार्यकक्षमा अनेरास्ववीयुले लगाएको ताला अझै खुल्न सकेको छैन् । प्रशासन र सञ्चालक समिति विद्यार्थीको माग प्रती गम्भिर नभएको सुवेदीले गुनासो गर्नुभयो । शिक्षा, व्यवस्थापन र मानवीकी संकायमा दशजोड दुई र स्नातक तहको पठनपाठन हुने म्याग्दी क्याम्पसमा एक हजार जना भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।