मुस्ताङ र म्याग्दीको लेकाली क्षेत्रमा हिमपात

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १७ पुष ।
आईतबार दिउँसोदेखि भएको बर्षासंगै मुस्ताङ र म्याग्दीको लेकाली क्षेत्रमा हिमपात भएको छ ।

मुस्ताङको सबै क्षेत्र र म्याग्दीको घोडेपानी लगायतका उच्च पहाडी क्षेत्रका बस्तीहरुमा हिमपात भएको हो । वर्षा र हिमपातसंगै चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । मुस्ताङको लेते, कुञ्जो, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, मुक्तिनाथ, कागबेनी लगायत १६ वटै गाविसमा हिमपात भएको छ ।

सदरमुकाम जोमसोममा आईतबार साँझसम्म डेढ फिट हिउँ परेको छ । हिमपात भएपछि कोवाङमा सुरु भएको थकाली समुदायको बाह् वर्षे ल्योफेव पर्व समेत प्रभावित बनेको छ । जोमसोम घाँसा लगायत मुस्ताङका सडकहरुमा सवारी साधन सञ्चालन र आवत जावत प्रभावित भएको छ ।jomsom-ma-snowfallसर्वसाधारणहरु घरभित्रै बसेका छन् । पर्यटकहरु भने हिउँ परेपछि खुसी भएका छन् । कृषकहरु समेत हिमपातसंगै उत्साहीत भएका छन् । स्याउ, उवा, जौ लगायतका बालीलाई हिउँले सिचाईको काम गर्ने भएकाले कृषक उत्साहीत भएका हुन् । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा पनि बर्षासंगै हिमपात भएको स्थानीय होटल ब्यवसायी जुनु पुनले बताउनुभयो ।
गुर्जा, नांगी, राम्चे, टिकोट, मुदी, लुलाङ लगायतका लेकाली बस्तीहरुमा पनि सामान्य हिउँ पर्न थालेको छ । लामो समयपछि भएको बर्षाले हिउँदेबालीको सिचाईमा सघाउ पुग्ने भएकाले कृषकहरु खुसी भएका छन् ।