दरवाङलाई साक्षर र सबै घरधुरी सहकारीमा आवद्ध भएको गाविस घोषणा

सन्तोष गौतम/विकल्प न्यूज
दरवाङ १६ पुस ।
म्याग्दीको दरवाङलाई साक्षर र सबै घरधुरी सहकारीमा आवद्ध भएको गाविस घोषणा गरिएको छ ।

न्यु दरवाङ महिला बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभाको अवसरमा शनिबार सबै घरधुरी सहकारीमा आवद्ध भएको र शुक्रबार जनप्रिय माविको ६५ औ वार्षिक उत्सवमा साक्षर गाविस घोषणा गरिएको हो ।

दरवाङ गाविसमा बसोबास गर्ने १५ देखि ५९ वर्ष उमेरका दुई हजार २८८ जनासंख्या मध्य ९६.९८ प्रतिशतले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर घोषणा गरिएको गाउँ शिक्षा समितिले जनाएको छ ।darbang-vdc-parisad-1जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत विश्वप्रकाश रेग्मीको प्रमुख आतिथ्यता, जनप्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामीको अध्यक्षता, शिक्षक बालकृष्ण शर्माको सञ्चालन र प्रअ दिवाकर सुवेदीले स्वागत सहित शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी न्यु दरवाङ महिला बचत तथा ऋण सहकारीमा गाविसका सबै घरधुरी आवद्ध भएका छन् । गाउँ परिषद् तथा सहकारीको साधारणसभाको अवसरमा स्थानीय विकास अधिकारी प्रेमराज गिरीको प्रमुख आतिथ्यतामा सञ्चालकहरुले सहकारीको सिद्धान्त कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै घोषणा गरेका छन् ।

७८६ जनाको २३ लाख आठ हजार नौ सय रुपैयाँ सेयर रकम रहेको सहकारीमा गत आर्थिक वर्षमा ७८ लाख १८ हजार ३०९ रुपैयाँको कारोबार भएको घोषणा सभामा जानकारी गराइएको थियो । यसैगरी ३३ लाख ९२ हजार ७४५ रुपैयाँ लगानी, २४ लाख ३६ हजार ४८३ हजार रुपैया बचत रहेको सहकारीले १० लाख छ हजार ७४० रुपैयाँ आम्दानी गरेको छ । darbang-bazarसहकारी अन्तरगतका २९ वटा समूह मार्फत सामुयिक जमानीको आधारमा एक पटकमा पचास हजार रुपैयाँ सम्म लगानी गर्ने सहकारीमा प्रत्येक सदस्यले मासिक न्युनतम दुई सय रुपैयाका दरले बचत गर्छन् ।

सहकारीमा आवद्ध भएपछि बचत गर्ने बानीको विकास भएको र पैसा आवश्यक पर्दा अरुको मुख ताक्नुपर्ने समस्या हटेको तथा आयआर्जनमा सघाउ पुगेको अध्यक्ष याममती रोकाले बताउनुभयो ।
लक्ष्मी सापकोटाले सञ्चालन गर्नुभएको घोषणा कार्यक्रममा सचिव ममसरा कार्कीले प्रगति, कोषाध्यक्ष गौमती चपाईले आर्थिक र लेखा समिति संयोजक हरिमाया बिकले लेखा प्रतीवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा सहकारीले विपन्न बालबालीकालाई पोशाक र उत्कृष्ट सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।