म्याग्दीको देविस्थानमा पहिरोमा पुरीएर एक जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्युज
म्याग्दी १८ भदौ । म्याग्दीको देविस्थान गाविस ५ घरथोक घैयाबारीमा शनिबार बिहान पहिरोले गोठ बगाउँदा एक जनाको मृत्यु भएको छ ।

बस्तीदेखि करिब आठ सय मिटर माथिबाट खसेको पहिरोले पुरीएर गोठमा सुतीरहेका ७३ वर्षिय ओमप्रसाद भट्टचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।devisthan vdc

गोठमा पुरीएका भट्टचनको शव प्रहरी र स्थानीयबासीले बाहीर निकालेका थिए । भट्टचनको गोठमा रहेका एक वटा गाई, १ वटा बाच्चा र १ वटा भेडा सहित करिब दुई लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको धनमाल क्षत्ती भएको प्रहरीले जनाएको छ ।

यसैगरी पहिरोले स्थानीय कलिमा बुढाथोकीको २ तले कच्चि घर पुरीएर पूर्णरुपमा क्षत्ती गरेको छ । उनको घरमा चार लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । बुढाथोकीको दश जनाका परिवार स्थानीय शेरबहादुर घर्तीको घरमा आश्रय लिएर बसेका छन् ।
यस्तै सोही स्थानका हरीबहादुर घर्तीको बारीमा बाँधेको एक वटा गोरु पनि पहिरोले पुरीएर मरेको छ । पहिरोका कारण मृतक भट्टचन, कमल पुन र ओमबहादुर पुनको घर समेत जोखिममा रहेकाले उनिहरुलाई सुरक्षित स्थानमा सारीएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो ।