विकास निर्माणमा भएको लापरबाही र असावधानीले विपद्

विकल्प न्यूज/बेनी
साउन ३१ गते ।
पहाडी जिल्ला म्याग्दीमा जथाभावी सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको छ । सडक निर्माणका क्रममा भएको लापरबाही र असावधानीले बर्षेनी करोडौ बजेट बालुवामा पानी हाले सरह मात्र बनेको छैन, मानिसको ज्यानै जाने, खेतीयोग्य जमिन, बस्ती र अन्य विकासका पुर्वाधारहरुमा नोक्सानी भएको छ ।

सडक निर्माण गर्दा प्राबिधिक र वातावरण पक्षलाई ख्याल नगर्दा वरपरका मानव बस्ती, खानेपानी, सिचाई नहर लगायत भौतिक संरचनाका साथै खेतीयोग्य जमिन बाढी पहिरोको चपेटामा परेका छन् । सडक निर्माणका क्रममा निस्कने माटो र भलबाढीको ब्यवस्थापन नगरिँदा त्यसले बाढी पहिरोको समस्या बढाएको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।Arthunge Ma Pahairoकालीगण्डकी, म्याग्दी, राहुघाट लगायत नदी र खोल्साहरुमा सडकबाट आउने बाढी मिसीएर सतह बढ्दा तटीय बस्तीमा कटानको समस्या देखिएको छ । यस्तो समस्याको उदाहरण बनेको छ म्याग्दीको अर्थुङ्गे देउराली–तोरीपानी सडक आयोजना । गत हिउँदमा सडक विस्तार र स्तरवृद्धी गर्ने क्रममा अर्थुङ्गेको एक्केपीपल क्षेत्रमा प्राबिधिक हिसावले प्रतिकुल हुने गरि जथाभावी डोजरले खन्नुका साथै माटो ब्यवस्थापन नगर्दा अहिले अर्थुङ्गे र बेनीमा पहिरो तथा बाढीको समस्या उत्पन्न भएको स्थानीय बासिन्दा कर्णबहादुर भण्डारीले बताउनुभयो ।

सडकको एक्लेपिपल क्षेत्रबाट खसेको पहिरो र आउने बाढीले अर्थुङ्गेका एक दर्जन व्यक्तिका घर, नेपाली सेनाको श्रीबक्स गुल्मका भवन जोखिममा पर्नुका साथै स्थानीयबासीको संयौ रोपनी खेतीयोग्य जमिन क्षत्ती गरेको छ । सडक छेउछाउमा पर्ने श्रीबहादुर खत्री, हरिदत्त उपाध्याय, कर्णबहादुर भण्डारी, तप्तबहादुर भण्डारी, रत्नबहादुर भण्डारी, तुलबहादुर भण्डारी, तुलसीराम सुवेदी, कृष्णदत्त ढुङ्गाना, नैनकली सुनार, घनश्याम बिकको घर जोखिममा परेको छ ।

श्रीबक्स गुल्मको को ६ वटा आवास भवन र चित्रबहादुर बरुवालको कुखुरा फार्म बाढीले पुरेको छ । यसैगरी सडक आसपासमा रहेको कर्णबहादुर, तप्तबहादुर, रत्नबहादुर र तुलबहादुर भण्डारी, बिष्णुकुमारी पौडेल, बिष्णु हमाल, पार्वती खड्का, गणेश बानिया लगायत स्थानीयबासीको खेतबारी सडकबाट आएको बाढीले पुरेर क्षत्ती पु¥याएको स्थानीय बासिन्दा यादव सुवेदीले बताउनुभयो ।

राम्चे सामुदायिक वन क्षेत्र पहिरोले तहस नहस बनाएको छ । भएको जग्गा जमिन पहिरो र बाढीले बगाएपछि सुकुम्बासी सरह भएको सडक प्रभावीत क्षेत्रका बासिन्दाहरुले बताएका छन् । सो सडकबाट आएको बाढी सदरमुकाम बेनीको क्याम्पसचोक र मंगलाघाट क्षेत्रमा आउने खोल्सामा मिसीदा जोखिम निम्त्याएको छ । जेठ २९ गते क्याम्पसचोक, मंगलाघाट र साउन ११ गते भु–संरक्षण, वन, पशु सेवा र सिचाई विकास कार्यालयको भवनमा बाढी पसेको थियो ।
अर्कोतर्फ सडक प्रभावीत क्षेत्रका बासिन्दाहरुका लागि ड्रिलीप परियोजनाले वितरण गरेको क्षत्तीपुर्तीमा पनि विभेद भएको गुनासोले चर्को रुप लिएको छ । आयोजनाको मापदण्ड अनुसार पाउनुपर्ने क्षतिपुर्तीका लागि पनि सिमित नेताहरुको भनसुन र पहुँचको साथ लिनुपर्ने अवस्था रहेको स्थानीयबासी घनश्याम दर्जीले बताउनुभयो ।

बेनी पाखापानी सडक निर्माण आयोजना सञ्चालन गरेको जिविस अन्तरगतको विकेन्द्रित ग्रामिण पुर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप)ले कमजोर भुवनोट रहेका कारण पहिरो र बाढीको समस्या आएको बताएको छ । आयोजनाका प्रमुख जिल्ला ईञ्जिनियर ओमबहादुर केसीले पहिरो जानुमा ठेकेदारको लापरबाही र असावधानी पनि एक कारण भएकाले उसलाई सचेत बनाएको प्रतिक्रिया दिनुभयो ।

बेनी पाखापानी सडक आयोजना प्रभावीत क्षेत्रमा देखिएको यो समस्या विकासको काम गर्दा असावधानी अपनाउँदा निम्तीएको बिनास तथा विपद्को उदाहरणमात्रै हो । कमजोर भुवनोट र अधिकांश भिरालो पाखो रहेको म्याग्दीका सबैजसो सडक प्रभावित क्षेत्रका बासिन्दा सडकबाट पाउने सुबिधाले भन्दा पहिरो र बाढीको त्रासले प्रताडित भएका छन् ।
अर्कोतर्फ विकासका नाममा सडक खन्न डोजर डुलाएर वार्षिक आठ देखि दश करोड रुपैया यसरीनै स्वाह भैरहेको छ । सडक निर्माणका क्रममा हुने लापरबाही र असावधानी नियन्त्रणमा सरोकारवालाले ध्यान नदिने हो भने विकास र सुबिधा होईन थप जोखिम र विपद् बढ्ने निश्चित छ ।