नांगी बाराही मन्दिरको जिर्णोद्धार सुरु

सन्तोष गौतम/विकल्प न्यूज
साउन ३ गते ।
म्याग्दीको राम्चे गाविस २ मा रहेको प्रशिद्ध धार्मीक स्थल नागी बाराही मन्दिरको जिर्णोद्धार सुरु भएको छ ।

स्थानीय बासिन्दाको सक्रियतामा दुई सय वर्ष भन्दा बढी पुरानो मन्दिरको जिर्णोद्धार गर्न लागीएको हो । स्थानीय बासिन्दा, पेन्सनर र बिदेशमा रहेका नागी बासीहरुबाट चन्दा संकलन गरेर मन्दिर पुननिर्माण गर्न लागिएको नांगीबाराही संरक्षण समितिका कर्णबहादुर खोरजाले बताउनुभयो ।

उहाँका अनुसार मन्दिर पुननिर्माणका लागि १६ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । मन्दिर जिर्ण हुँदा पुजाआजा र भक्तजनलाई असहज भएको थियो । गाउँमा प्रतिघर पाँच हजार देखि दश हजार रुपैयाँका दरले चन्दा संकलन गरिएको छ । यसैगरी बिदेशमा रहेका नागीबासीहरुलाई पनि सहयोगको अपिल गरिएको खोरजाले बताउनुभयो ।

साउन महिनाभित्र मन्दिर जिर्णोद्धार गरिसक्ने लक्ष्य सहित काम भैरहेको छ । मन्दिरमा तिन वटा ढोका राखिने भएको छ । यसैगरी ढुंगाको टायलको पर्खालमा प्रयोग गरिने जनाइएको छ । महिला, पुरुष र बली चढाउनेहरुका लागि तिन वटा छुट्टा छुट्टै ढोका बनाउन लागिएको हो ।Nagi Barahaiनांगी बाराहीमा जनैपूर्णीमाका दिन बिशेष पुजाआज हुने गर्छ । अन्य समय पनि भक्तजन आउने गरेका छन् । मनोकाक्षा पुरा हुने जनविश्वासका साथ नांगी बाराहीमा बर माग्ने र पुरा भएमा भाकल गर्ने चलन रहेको छ । जनैपूर्णीमाको दिन पाँच हजार जना भन्दा बढी भक्तजन आउँछन् ।

म्याग्दीका विभिन्न ठाउँका साथै काठमाडौ, पोखरा, भैरहवा लगायतका सहरबाट पनि भक्तजनहरु नागी बाराहीको दर्शन गर्न आउने गरेका स्थानीय अगुवा लक्ष्मण गर्बुजाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष जनैपूर्णीमाको दिन एक लाख ७० हजार रुपैया भेटि संकलन भएको थियो ।

मन्दिर जिर्णोद्धारसंगै नागीबाराही तालको संरक्षणका लागि पनि पहल गरिएको छ । अन्य बेलामा सुक्ने ताल जनैपूर्णीमाको समयमा भरीभराउ हुने गर्छ । मन्दिर पुननिर्माणपछि पदमार्ग निर्माण गर्ने योजना रहेको गर्बुजाले बताउनुभयो ।