सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ असार ।
पोखराको चिप्लेढुङ्गामा केन्द्रिय कार्यालय रहेको फेवा विकास बैंकले बेनीमा शाखा विस्तार गरेको छ ।
बेनीको हुलाकचोकमा सोमबार २९ औ शाखा स्थापना गरेर वित्तिय सेवा प्रवाह सुरु गरेको हो । शाखाको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र बैंकको सञ्चालक समितिका अध्यक्ष बिन्दुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
म्याग्दी र पर्वतको उत्तरी क्षेत्रका उद्योगी, ब्यापारी, कृषक र सर्वसाधारणलाई सर्वसुलभ, आधुनीक र प्रतिस्पर्धी बित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताउनुभयो ।
एक वर्षअघि विश्व विकास बैंकसंग गाभिएको सो बैंकले चालु आर्थिक वर्षको असार अन्तिम सातासम्म ११ अरब १७ करोड रुपैया निक्षेप संकलन र १० करोड रुपैया कर्जा लगानी गरेको जनाएको छ ।
उद्योग, ब्यापार, ब्यवसाय, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा कर्जा प्रवाहका साथै निक्षेप संकलन र विप्रेषण सेवा पनि दिइने शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताउनुभयो ।
शाखा उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा लगायतले म्याग्दीको पर्यटन, कृषि र जलविद्युतको क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिनुभयो ।
सहायक कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तको सञ्चालन, अध्यक्ष बिन्दुकुमार थापाको अध्यक्षता र सञ्चालक रबिन्द्र माकाजुको स्वागत मन्तब्यमा शाखा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।