म्याग्दीमा आलुबाट गाउँमा करोडौ भित्रिदै

  • सडक सुबिधासंगै आलुले बजार पायो
  • एउटै गाउँबाट डेढ करोडको आलु निकासी
  • पुरै गाउँको आयस्रोत आलु
  • मकै र कोदोको विकल्पमा आलु खेती
  • राम्चेलाई आलु गाउँ घोषणा गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,असार २७ गते ।

म्याग्दीको हिस्तान ३ टिकोटका धन तिलीजाले हालै ४५ मुरी आलु पोखरा लगेर बेच्नुभयो । गत वर्ष आलु बेचेर एक लाख ९० हजार रुपैयाँ आम्दानी गरेका तिलीजाले यसपाली पनि त्यतीनै कमाई हुने अनुमान गर्नुभएको छ ।

तिलीजा जस्तै उत्तरी म्याग्दीको नागी, राम्चे, टिकोट, घराम्दी, खिवाङ, शिख, फलाते, चित्रे क्षेत्रका कृषकहरु हिजोआज बारीमा फलेको आलु खन्न र बजारमा पठाउन व्यस्त छन् । उनिहरुलाई पिठ्युमा बोकेर आलु बेच्न बजार पुग्दा समेत उचित मूल्य नपाउने समस्या छैन् । बारीमा आलु नखन्दै ब्यापारीबाट पेश्की बुझीसकेका छन् ।Ramche ma Aalu Khandai Farmer (2)  पहिले अन्नसंग साटीने आलु बेचेर कृषकहरुले पछिल्लो समय गाउँमा करोडौ नगद भित्र्याएका छन् । उत्तरी म्याग्दीका मध्य पहाडी बस्तीहरुमा बर्खे आलु प्रमुख आयस्रोत बनेको छ । गाउँमा सडक सुबिधासंगै आलु निकासी र नगद भित्र्न थालेको हो ।

‘घरायसी उपभोग र कोशेलीमा सिमित आलु खेती अहिले आयस्रोतको गतिलो माध्यम भएको छ’ तिलीजाले भन्नुभयो ‘बजारको समस्या छैन् । ब्यापारीले पहिलेनै पेश्की दिएर बारीबाटै आलु किन्छन् । फलाउन सके जति पनि बिक्री हुन्छ ।’

स्थानीय बासिन्दालाई आवात जावतका लागि सुबिधा, दैनिक उभोग्य र निर्माण सामाग्रीको ढुवानी तथा आलु लगायत कृषि उपज निकासीका समुदायको करोडौ लगानीमा सडक निर्माण भएको छ ।

न्युन सरकारी अनुदानसंगै चन्दा संकलन र ऋण खोजेर सडक निर्माण भएको थियो । नियमित रुपमा जिप, बस चल्न नसकेपनि ट्याक्टरबाट आलु ढुवानी गर्न पाउँदा गाउँका कृषकलाई आम्दानी र सुबिधाका हिसाबले राहत मिलेको महभिर टिकोट सडक आयोजनाका अध्यक्ष चन्द्रबहादुर पुनले बताउनुभयो ।Aalu Bhandaran Gardai Ramche ko Farmar Raju Pun

समुद्री सतहदेखि एक हजार तिन सय मिटर भन्दा माथिल्लो भुगोलमा अवस्थित सो क्षेत्रमा उत्पादन भएको आलु बेनी, पोखरा, कुश्मा, बागलुङ र काठमाडौ निकासी हुने गरेको छ । बेनीमा ४५ र पोखरा पु¥याउँदा ५० रुपैया प्रतिकिलोका दरले आलु बिक्री हुने गरेको टिकोटका धनबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार आलु बेचेर एक जना कृषकले वार्षिक एक लाख देखि तिन लाख रुपैयाँ सम्म आम्दानी गर्छन् । सो क्षेत्रका करिब एक हजार घरधुरी कृषकले व्यवसायिक आलु खेती गरेका छन् । त्यहाँका कृषकले आलु खेतीमा रासायनीक मल र बिषादीको प्रयोग गर्दैनन् । प्राङगारीक मल, जैविक बिषादीको प्रयोग गरेर आलु खेती गर्दै आएको राम्चेका राजु पुनले बताउनुभयो ।

छिटो पाक्ने, समान आकार र ठूला दाना तथा खाँदा स्वादीलो हुनु उत्तरी म्याग्दीमा उत्पादीत आलुको बिषेशता रहेको कृषक पुनले बताउनुभयो । सो क्षेत्रमा केही वर्षयता मकै र कोदोको विकल्पमा आलु खेती हुन थालेको छ । बजार सुबिधा भएपछि अन्नबालीको विकल्पमा आलु खेती विस्तार भएको जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।

‘उत्तरी म्याग्दीमा कोदो र मकै खेती घटेर आलु खेती विस्तार भएको छ’ थापाले भन्नुभयो ‘बजार र सडक सुबिधाको पहुँचसंगै कृषकले व्यवसायिक रुपमा आलु खेती गर्ने क्रम बढेको छ ।’ बर्षाै सम्म खेती हुन नसकेर बाँझीएको जमिन पनि आलु खेतीमा प्रयोग हुन थालेको छ । Ramche ma Aalu Khandai Farmer (1)आलु खेती अन्य बालीको तुलनामा सजिलो मानिन्छ । २३९ घरधुरीको बसोबास रहेको राम्चे गाविसबाट मात्रै गत वर्ष एक करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आलु निकासी भएको स्थानीय अगुवा कृषक भक्तबहादुर पुर्जाले बताउनुभयो ।

‘गत वर्ष आलु बेचेर गाउँमा डेढ करोड भित्रीएको थियो’ पुर्जाले भन्नुभयो ‘यसपाली बैशाख जेठमा खडेरी र असार लागेपछिको झरीका कारण राम्चेमा आलु उत्पादन सत्तरी प्रतिशतले घटेको छ ।’ राम्चेमा आलु उत्पादन घटेपनि नांगी, टिकोट, घराम्दी, रिमा, खिवाङ, फलाते, चित्रे क्षेत्रमा भने गत वर्ष सरहनै फलेको कृषकहरुले बताएका छन् ।aalu phtoo 2

बागबानि विकास अधिकृत थापाले प्रतिकुल मौसमका कारण यसपाली जिल्लाभर समग्रमा आलु उत्पादनमा गिरावट आउने अनुमान गरेको बताउनुभयो । एक हजार ६१५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको म्याग्दीमा गत आर्थिक वर्ष २०७१७२ मा १६ हजार ५५३ मेटिक्टन आलु उत्पादन भएको थियो ।

गत वर्ष करिब छ करोड रुपैयाँ मूल्य बराबरको पाँच हजार २८२ मेट्रिक्टन आलु जिल्ला बाहीर निकासी भएको कृषि बिकास कार्यालयको तथ्याङ्क छन् । पात्लेखेत, पाखापानी, सिंगा, भकिम्ली, ज्यामरुककोट, राम्चे, हिस्तान, घार र शिख गाविस आलु खेतीका लागि पकेट क्षेत्र हुन् ।aalu photo 4 ती गाविसहरुमा कृषि विकास कार्यालयले आलु उत्पादन आयोजना सञ्चालन गरेर अनुदानमा विउ आलु वितरण, विउ आलु भण्डारण भवन निर्माणमा सहयोगका साथै तालीम प्रदान गर्दै आएको छ । यस वर्ष बरंजा र लुलाङको मरेनीमा विउ आलु भण्डारण भवन निर्माण भएको छ ।

म्याग्दीमा एमएस ४२, कुफ्रिज्योती, कार्डिनल, एनपिआई १०६, टिपीएस, म्याग्दी लोकल जातको आलु खेती हुन्छ । माघ फागुनमा महिनामा लगाइने बर्खेआलु अषाढ श्रावणको समयमा खन्ने गरिन्छ ।aalu photoआलु खेती म्याग्दीको प्रमुख निकासीयोग्य बालीको रुपमा विकास भएको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । गुणस्तरीय आलु उत्पादन वृद्धी र बजार प्रर्वद्धनमा कार्यालयले जोड दिएको उहाँको भनाई छ ।

प्राङ्गगारीक प्रबिधीले आलु खेती हुदै आएको राम्चेलाई आलु गाउँ घोषणा गर्ने तयारी भएको छ । गाउँको मुख्य आयस्रोत आलु खेती बनेकाले राम्चेलाई चिनाउन आलु गाउँ घोषणा गर्ने योजना अघि सारेको गाविस सचिव कृष्णबहादुर विश्वकर्माले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयसंग सहकार्य गरेर घोषणा गर्न पहल भएको सविच बिश्वकर्माले बताउनुभयो । राम्चेको नांगी, थावन, राम्चे, काफलडाँडा क्षेत्रको अधिकांश बारीमा आलु खेती हुन्छ ।


1 thoughts on “म्याग्दीमा आलुबाट गाउँमा करोडौ भित्रिदै

Comments are closed.