कोरला नाका सञ्चालनका लागि सरकारद्धारा भौतिक र सुरक्षा तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ असार ।
उच्च स्तरीय सरकारी टोलीले बिहीबार चीनको स्वशासीत क्षेत्र तिब्बतसंग सिमा जोडीएको कोरला नाकाको बस्तु अवस्था अध्ययन गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री भिम रावल, उर्जामन्त्री टोपबहादुर रायमाझी, भौतीक योजना तथा निर्माणमन्त्री बिजयकुमार गच्छदार, पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको टोलीले सिमा क्षेत्रमा पुगेर त्यहाँको बस्तु अवस्थाको बारेमा जानकारी लिएको हो ।Mantri haru ko Toli Jomsome ma

टोलीमा अर्थराज्यमन्त्री दामोदर भण्डारी, सडक बिभागका महानिर्देशक माधव कार्की, रक्षा सचिव महेश दाहाल, सांसदहरु रोमी गौचन थकाली, श्रीमाया थकाली र महेन्द्र शेरचन लगायत १५ जनाको सहभागिता रहेको थियो ।

नेपाली सेनाको हेलीकप्टर मार्फत कोरला नाका क्षेत्र पुगेको टोलीले सदरमुकाम जोमसोममा सरकारी कार्यालय प्रमुख, सुरक्षा अधिकारी र सरोकारवालासंग छलफल गरेको थियो । टोलीले नाका सञ्चालनका लागि सुरक्षा र भौतिक पुर्वाधारको अवस्थाको विषयमा अध्ययन गरेको सांसद श्रीमाया थकालीले बताउनुभयो ।

सरकारले उच्च प्राथामिकता राखेको कोरला नाका पुग्ने सडकमार्ग, सुरक्षा र भन्सार कार्यालय व्यवस्थापन लगायतका विषयमा स्थलगत अनुगमन गर्न टोली सीमा क्षेत्र पुगेर बिहीबारनै राजधानी फर्कीएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

सिमा क्षेत्रमा सुरक्षाका लागि सरकारले नेपाली सेनाको गुल्म राख्ने तयारी गरेको छ । लोमान्थाङको छोलुङमा सेनाको क्याम्प राख्न स्थानीयबासीले करिब पचास रोपनी जग्गा निशूल्क उपलब्ध गराएका छन् । रक्षामन्त्री भिम रावलले कोरला नाका सञ्चालन गर्न सरकारले उच्च प्राथमिकता दिएको प्रतिक्रिया दिनुभयो ।

नाका सञ्चालनका लागि सरकारले सडक निर्माणमा प्राथमिकता दिने र सिमा क्षेत्रमा सेनाको क्याम्प राख्न अनुमती दिइसकेको मन्त्री रावलले बताउनुभयो । क्याम्प राख्न भौतिक पुर्वाधार निर्माण सुरु गर्ने उहाँले बताउनुभयो । यसैगरी चिन सरकारसंग कुटनितीक पहल गरिरहेको मन्त्री रावलले बताउनुभयो ।