बैसरीमा झोलुङ्गे पुल बन्यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ असार ।
म्याग्दीको राम्चे ९ र भगवती २ को सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण भएको छ ।

२०७२ जेठ १० गते राती राम्चे ९ काफलडाँडाको पहिरोले बैसरीमा रहेका दुई वटा झोलुङ्गे पुल पुरेको थियो । पुल पुरीएपछि काठको अस्थाई साँघु बनाएर कालीगण्डकी नदी तर्दै आएका सर्वसाधारणलाई झोलुङ्गे पुल निर्माण भएपछि सहज भएको छ ।baisari pool photo

बैसरीमा  पुल  निर्माणधिन अवस्थामा हुँदा  लिइएको तस्विर । तस्विर ठाकुरप्रसाद आचार्य

३७ लाख दुई हजार ६४६ रुपैयाँको लागतमा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जिविसका असिस्टेन्ट सब ईञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार जिविसको २६ लाख ५८ हजार ८१४, स्वाप कार्यक्रमको ६ लाख ८७ हजार ८६४, उपभोत्ताको दुई लाख ४७ हजार २०० र राम्चे गाविसको एक लाख आठ हजार ७६८ रुपैयाको लगानीमा पुल निर्माण भएको हो ।

सो पुल निर्माण भएपछि हिस्तान, राम्चे र भगवती गाविसका बासिन्दाहरु लाभान्वित भएका छन् ।