बेनी–देउराली सडक आयोजना अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ असार ।
म्याग्दीको बहुप्रतिक्षीत बेनी–पाखापानी सडक आयोजना अन्तरगत बेनी–देउराली खण्डको स्तरवृद्धी गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाले ३.१८० मिटर सडक स्तरवृद्धीको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

वि.स २०७१ असार १ गते सोही वर्षको फागुन महिनामा सम्पन्न गर्ने लक्ष्य सहित सुरु भएको आयोजना प्रभावित क्षेत्रका बासिन्दाको असहयोग, बिवाद, दातृ निकाय एशियाली विकास बैंक, ठेकेदार र कर्मचारीहरुको ढिलासुस्तीका कारण डेढ वर्ष ढिला गरि सम्पन्न हुन लागेको हो ।DSC01443

ठेकेदार कम्पनी शिवशक्तिरनाना जेभीका प्रतिनिधि विपीन खड्काले असार मसान्तभित्र आयोजनाको काम सम्पन्न हुने जानकारी दिनुभयो । बेनी देखि अर्थुङ्गे देउरालीसम्म बिवादीत स्थान बाहेकको ठाउँमा ग्राभेल गर्ने, नाली बनाउने, पक्कि र ग्याविन पर्खाल लगाउने काम सकेको उहाँले बताउनुभयो ।

आँपरुख लगायतका ठाउँमा चार सय मिटर पिसीसी र आरसीसी ढलान गर्ने काम सोमबारबाट सुरु गर्ने खड्काले जानकारी दिनुभयो । निर्धारीत समयमा काम पुरा गर्न नसकेको भन्दै आयोजनाले ठेकेदार कम्पनीलाई बैशाख १६ गतेदेखि दैनिक १२ हजार ६०५ रुपैयाका दरले जरिवाना तोकेको छ ।

जरिवाना तिराउन सुरु गरेको एक सय दिनसम्म पनि काम सम्पन्न नगरे घरौटी जफत हुने चेतावनी दिएपछि निर्माण कार्यले तिब्रता पाएको आयोजना प्रमुख बिवेक केसीले बताउनुभयो । दुई करोड ४७ लाख ८२ हजार ९२३ रुपैयाँमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।