पहिराले नहर भत्काएपछि मल्लाजमा रोपाई प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ असार ।
पर्वतको मल्लाज सिचाई आयोजनाको नहर पहिरोले भत्काएपछि बाँसखर्क र माझफाँट गाविसमा धान रोपाई प्रभावित भएको छ ।

मुख्य खाद्यबाली धान लगाउने समयमा नहर भत्कीएपछि पानीको अभावमा करिब एक हजार घरधुरी कृषकहरु समस्यामा परेका छन् । आयोजनाको पुम्दीखोला स्थित मुहानदेखि एक हजार दुई सय मिटरको दुरीमा रहेको करिब दश मिटर नहर शनिबार राती खसेको पहिरोले भत्काएको हो ।

अक्करे भिरको बिचमा रहेको नहर भत्कीएपछि बाँसखर्क र माभफाँट गाविसका कृषकहरुलाई रोपाई गर्न समस्या भएको आयोजनाका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले बताउनुभयो । भिरबाट खसेको कडा चट्टान सहितको पहिरोले नहरको बेस सहित भत्काएको छ । मल्लाज क्षेत्रमा सो नहरको पानी प्रयोग गरेर दैनिक ३० देखि ३५ हलले रोपाई गरिरहेका थिए ।
सिचाई अभाव भएपछि कृषकहरु चिन्तित भएका छन् । Mallaj Ropai

आयोजना मार्फत बाँसखर्कको ९ र माझफाँटको १ नम्बर वडा बाहेक ४८० हेक्टर जमिनमा सिचाई सुबिधा पु¥याउदै आएको थियो । नहर भत्कीएपछि रोपाई स्थगित गर्नुपर्ने अवस्था आएको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर जिसीले बताउनुभयो ।Nahar Bhatkeayako

उहाँका अनुसार अहिले घोप्टे छहराको पानी मात्रै नहरमा आएको छ । पर्याप्त पानी नहुँदा धान रोपाई गर्न समस्या भएको हो । रोपाईका लागि असार ११ गतेदेखि नहरमा पानी चलाइएको थियो । मल्लाजमा अहिले करिब पाँच प्रतिशत मात्रै रोपाई भएको छ । आयोजना मर्मतका लागि सोमबार भत्कीएको ठाउँमा गएर निरिक्षण गरेपछि आवश्यक कदम अघि बढाउने अध्यक्ष जिसीले बताउनुभयो ।

उहाँका अनुसार नहर भत्कीएको ठाउँमा पाईप राखेर पानी चलाउने योजना भएपछि कठिन भुगोलका कारण सफल हुने सम्भावना कम देखिएको छ । २०३६ सालमा सुरु भएको मल्लाज सिचाई आयोजना २०६८ सालमा पूर्ण रुपमा सञ्चालनमा आएको थियो । अहिले सो आयोजनाको मुख्य नहरबाट पानी वितरण गर्न नौ वटा शाखा नहर बनाउने काम भैरहेको छ ।