वास परियोजनाका ६ वटा खानेपानी आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ असार ।
जिविस म्याग्दी अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत चालु आर्थिक वर्षमा ६ वटा खानेपानी आयोजना निर्माण भएको छ ।

परियोजनाले आईतबार बेनीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा निर्माण सम्पन्न भएका आयोजनाबाट तिन हजार ४५ जनसंख्या लाभान्वित भएको जानकारी गराइएको हो । परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले थप नौ वटा आयोजना निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुभयो ।DSC01453

पौडेलका अनुसार चिमखोला, पाखापानी, शिख, ओखरबोट, रुम, अर्मन, बिम लगायत गाविसमा आयोजना निर्माण भएको हो । परियोजना मार्फत म्याग्दीमा खानेपानी र सरसफाईमा समुदायको पहुँच विस्तारका लागि योजना तथा कार्यक्रम सञ्चालन हुदै आएको छ ।

हालसम्म म्याग्दीको पाँच वटा गाविस सहित ५० वटा गाविसलाई पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिएको सल्लाहकार पौडेलले जानकारी दिनुभयो । अभियानबाट १३ हजार ९०३ जना सरसफाईको पहुँचमा आएका छन् । यसैगरी विभिन्न ६ ठाउँमा सार्वजनिक शौचालय निर्माण भएको छ । दुई वटा निर्माणाधिन अवस्थामा छन् ।

स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको अध्यक्षता र परियोजनाका सम्र्पक व्यक्ति राजेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्टले पूर्ण सरसफाईयुक्त घोषणाको अवधारणा र आवश्यकताको विषयमा प्रकाश पार्नुभएको थियो ।

विषयगत सरकारी कार्यालय प्रमुख, राजनितिक दलका प्रतिनिधि र संघ संस्था प्रतिनिधिहरु सहभागि कार्यक्रममा म्याग्दीको खानेपानी र सरसफाईको अहिलेको अवस्था, योजना तथा रणनितीको बारेमा छलफल भएको थियो । म्याग्दीका सतप्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुबिधाको पहुँच विस्तार र सरसफाईमा पहुँच स्थापित गराउने योजना अघि सारीएको छ ।