२३ लाख जुटाएर महिलाले बनाए गाउँमा सामुदायिक भवन

विकल्प न्यूज/बेनी
असार १९ गते ।
म्याग्दीको नारच्याङका महिलाहरुले २३ लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् । नारच्याङको बेशीगाउँमा रहेको सिर्जनशिल आमा समूहले सभाहल र कार्यालय कोठा भएको भवन निर्माण गरेका हुन् । तिन सय जना क्षमत्ताको सभाहल भएको एक तले दुई कोठे भवन निर्माण गर्न २३ लाख रुपैया खर्च भएको आमा समूहकी सहसचिव नरिमाया गुरुङले जानकारी दिनुभयो ।narchang mothers bhavan

सभाहल निर्माण भएपछि भेला, विभिन्न कार्यक्रम, छलफल गर्न सजिलो भएको छ । भवन निर्माणका लागि स्थानीय स्तरमा श्रमदान, आर्थिक संकलन, सरकारी निकायसंग समन्वयको काम महिलाहरुकै अगुवाईमा भएको थियो ।

जिविसले एक लाख ५० हजार, गाविस कार्यालयले दुई लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । आमा समूहले लाहुरे, पर्यटक र विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गरेर जम्मा गरेको तिन लाख रुपैयाँ पनि भवनमा लगानी भएको सहसचिब गुरुङले बताउनुभयो ।

उहाँका अनुसार भवन निर्माणका लागि आमा समूहले सात लाख रुपैयाँ ऋण खोजेर लगानी गरेका छन् । ढुंगा, गिट्टी र बालुवा श्रमदान गरेर जुटाइएको थियो ।