लैङगिक समानता तथा सामाजिक समावेशीकरण बजेट तर्जुमा सम्बन्धी प्रशिक्षण सुरु

विकल्प न्यूज/बेनी
असार १७ गते । लैङगिक समानता तथा सामाजिक समावेशीकरण तथा लैङगिक उत्तरदायि बजेट तर्जुमा एवम परिक्षण विषयक दुइदिने प्रशिक्षण शुक्रबार देखि बेनीमा सुरु भएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय विकास प्रशिक्षण प्रतिस्ठान र नगर विकास प्रशिक्षण केन्द्र पोखराको आयोजनामा दुइ दिने प्रशिक्षण सुरु भएको हो । DSC01420

प्रशिक्षणमा स्थानीय तहमा समावेशीकरण र लैङगिक बजेट तर्जुमाका वारेमा प्रशिक्षण दिइने जिविस म्याग्दीका योजना तथा प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
प्रशिक्षणको उद्घाटन गर्दे स्थानीय विकास अधिकारी चिरन्जीवी पौडेलले दुइ दिने प्रशिक्षणले लैङगिक बजेट निर्माण र कार्यान्वयनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अझै पनि स्थानीय तहमा लैङगिक उत्तरदायि बजेटका वारेमा अन्यौलता कायम रहेकाले बजेटको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो । पछिल्लो समय राज्यले लैङगिक बजेट र समावेशीकरणलाई महत्व दिएकाले कार्यान्वयनमा सवैको सहयोग हुनुपर्ने स्थानीय विकास अधिकारी पौडेलको भनाइ थियो ।
स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,विषयगत कार्यालयका प्रमुख,गैरसरकारी संघ संस्थाका प्रतिनिधि सहभागि प्रशिक्षण कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत रविन्द्र आचार्यले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन नगर विकास प्रशिक्षण केन्द्र पोखराका कर्मचारी महेन्द्र खनालले गर्नुभएको थियो ।