क्याम्पस चोकमा फेरि बाढी आउन थाल्यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ असार ।
बर्खा यामको सुरुवातसंग बाढी, पहिरो र कटानको समस्या बढ्न थालेपछि म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ ।

जिल्ला विपद् ब्यवस्थापन समिति, प्रहरी, प्रशासनले विपद् ब्यवस्थापन र क्षत्ती न्युनीकरणका लागि पुर्व तयारी गरेका हुन् । जोखिमयुक्त ठाउँको पहिचान गरि समुदायलाई सर्तक रहनु अनुरोध गर्नुका साथै उद्धार र राहतका लागि पुर्व तयारी गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो ।
DSC01357(1)मुनाको दर, भगवतीको बैसरी, ओखरबोटको जुगेपानी, भकिम्लीको तोराखेत, पात्लेखेतको बान्द्रेखाल्टी लगायत ठाउँका एक हजार दुई सय घरधुरी पहिरोको जोखिममा छन् । यसैगरी सदरमुकाम बेनी, दरवाङ, तातोपानी, बाबियाचौर, तिप्ल्याङ, भुरुङ्ग तातोपानी लगायत तटीय क्षेत्रका बस्ती म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा छन् ।

बस्ती माथिको पाखोमा खनिएको सडकको भल मिसीएर आउने बाढीले सहज रुपमा निकास पाउन नसकेपछि बेनीको क्याम्पसचोक र मंगलाघाट क्षेत्रमा बाढीको समस्या रहेको छ । क्याम्पसचोकमा शुक्रबार बाढी नाली बाहीरबाट बग्न थालेपछि स्थानीय बासिन्दाहरु दिउसै पसल बन्द गरेका थिए ।

प्रहरी र स्थानीय बासिन्दाले नालीबाट सहज रुपमा पानी बग्ने ब्यवस्था मिलाउन ठाउँ ठाउँमा नाली सरसफाई गरिरहेका छन् । यसैगरी म्याग्दी र कालीगण्डकी नदी किनारमा जडित बाढीको पुर्व सूचना दिने प्रणाली चालु अवस्थामा राखिएको छ ।

भुरुङ्ग तातोपानी स्थित कालीगण्डकी र बाबियाचौर तथा देविस्थान स्थित म्याग्दी नदी किनारमा बाढीको पुर्व सूचना प्रणाली जडना गरिएको छ । शुक्रबारसम्म नदीमा पानीको सतह सामान्य रहेको प्रजिअ आचार्यले बताउनुभयो । नदीमा अस्वभावीक रुपमा सतह बढेमा पुर्व सूचना प्रणालीले खतराको घण्टी बजाएर सर्तकताका लागि सूचीत गर्ने जनाइएको छ ।