विकल्प न्यूज/बेनी
म्याग्दी,असार १६ गते ।
विगतका वर्षमा पानीका लागि पालो पर्खदा असार महिनाको अन्त्यतिर धान रोप्ने म्याग्दीको बाबियाचौर ८ का जिवन कार्कीले यसपाली तिन हप्ता अघिनै रोपाई सक्नुभयो । पानीको स्रोत कम हुँदा पालो कुर्दा समयमै धान रोपाई र सिचाई गर्न नपाउने कार्की जस्तै रणवाङका कृषकहरु यस वर्ष असार पहिलो हप्तादेखिनै रोपाईमा व्यस्त छन् । धान, मकै, गहु बाली र तरकारी खेतीको पकेट क्षेत्र मानिने रणवाङमा यस वर्ष नयाँ सिचाई आयोजना निर्माण भएपछि सिँचाईका लागि पानी लगाउन पालो पर्खनुपर्ने समस्याको अत्य भएको हो । ‘सानो कुलोमा सिमित मात्रामा आउने पानी सिचाई र रोपाईका लागि उपभोग गर्न पालो लगाउनुपर्ने अवस्था थियो’ कार्कीले भन्नुभयो ‘नयाँ आयोजना निर्माण भएसंगै नरहमा पर्याप्त मात्रामा पानी आउन थालेपछि सबैले चाहेको समयमा सिचाई र रोपाई गर्न पाएका छन् ।’
सिँचाईका लागि पानीको विषयमा समुदायमा झगडा र बिवाद हुने समस्याको पनि अत्य भएको कार्कीले बताउनुभयो । सिचाई विकास सब डिभिजन कार्यालय मार्फत ८९ लाख २५ हजार २९९ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट बाबियाचौर गाविसको ७ र ५ नम्बर वडाको ५५ हेक्टर जमिनमा सिचाई सुबिधा पुगेको छ ।दरवाङ र बाबियाचौर गाविसको सिमानामा पर्ने दुखु खोलाबाट एक हजार ८६१ मिटर नहर र १८० मिटर पाईपलाईन मार्फत पानी ल्याएर रणवाङ, सहश्रधारा र पानाबगर क्षेत्रमा बाह्ै महिना सिचाई गर्न सकिने भएको छ । आयोजना मार्फत १६० घरधुरी कृषक लाभान्वित भएको रणवाङ सिचाई आयोजना उपभोक्ता समितिका सचिव जितेन्द्र पुनले बताउनुभयो ।
वि.स २०४८ सालमा निर्माण भएको कच्चि नहर भएको आयोजनाका ४४० मिटर नहर २०५७ सालमा पहिरोले बगाएपछि रणवाङमा सिँचाईको समस्या उत्पन्न भएको थियो । सम्मो फाट रहेको रणवाङको जमिन जिल्लामै उर्वर मानिन्छ । सिचाईको सहज व्यवस्थासंगै रणवाङमा खाद्यबालीको विउ उत्पादन र तरकारी खेती विस्तार हुने उपभोक्ता समितिका अध्यक्ष लक्षिनबहादुर मल्लले बताउनुभयो ।
वि.स २०७१ बैशाखदेखि निर्माण सुरु भएको आयोजना निर्धारीत मितीभन्दा एक वर्ष ढिला सम्पन्न भएको हो । चितवनको इको विल्डर्सले २०७२ असार ३० गतेसम्म आयोजना सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो । भुकम्प, नाकाबन्दी, कामदार र इन्धन अभावका कारण आयोजनाको काममा ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधि राजेन्द्र बर्तौलाले बताउनुभयो ।
सिँचाई विकास सब डिभिजन कार्यालय मार्फत यस वर्ष रणवाङ बाहेक रत्नेचौरमा पनि २०२३ साले सिचाई आयोजनाको पुननिर्माण सम्पन्न भएको छ । आगामी वर्ष सम्पन्न गर्नेगरी ज्यामरुककोटमा अधेरीखोला सिन्धाली र अर्मनमा छिस्वाङ सिचाई आयोजना निर्माण सुरु भएको सबडिभिजन प्रमुख ईञ्जिनियर रमेशराज शर्माले बताउनुभयो । सन्तोष गौतम