सुध्रिन नसकेको विद्यालय

सन्तोष गौतम/विकल्प न्यूज
रुम(म्याग्दी)असार १६ गते ।
सरोकारवालाको बेवास्ता र आन्तरिक समन्वयको कमीले यहाँको एक सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर बनेको छ ।

अभिभावक तथा स्थानीय अगुवाले चासो नदिनु, शिक्षकको जागीरे मानसिकता, कक्षा कोठामा नियमित उपस्थित नहुने, बिचैमा कक्षा छाड्ने विद्यार्थी, प्रशासन र व्यवस्थापन समितिको समन्वयको कमीका कारण रुम गाविस ४ मा रहेको राष्ट्रिय माविको शैक्षिक स्तर खस्कदै गएको हो ।

कक्षा कोठा भवन, दरबन्दिका शिक्षक लगायत समस्याका बावजुद पनि निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालय शैक्षिक हिसाबले अगाडी देखिएपनि पर्याप्त दरबन्दि र पूर्वाधारको व्यवस्था भएको यस विद्यालयको शैक्षिक अवस्था जिल्लामै कमजोर छ । विद्यालयको औसत सिकाई उपलब्धिको हिसावले सबैभन्दा पछि रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्मा उल्लेख छ । Main Issue ko Photo (1) २३२ वटा सामुदायिक विद्यालय रहेको म्याग्दीको औसत सिकाई उपलब्धी ५४ प्रतिशत रहँदा यस विद्यालयको मुस्कीलले चालीसको वरपर छ । २००९ सालमा स्थापना भएको यस विद्यालयमा हाल पाँचसय २०  जना विद्यार्थी अध्ययन गर्छन् । प्रा.बि, निमावी र माविको कक्षा र विषयतग औसत सिकाई उपलब्धि न्युनतम ३३ देखि बढीमा ६४ प्रतिशत छ । धेरै जसो विषय र कक्षाको सिकाई उपलब्धी चालीस भन्दा कम छ ।

प्राबी तहका विद्यार्थीको विषयगत औसत सिकाई उपलब्धी चालीस भन्दा कम छ । निमावी तहमा विषयगत औसत सिकाई उपलब्धि नेपालीको बाहेकको पचास भन्दा तल छ । माविको जनसंख्या, सामाजिक, स्वास्थ्य शारिरिक बाहेक विषयको औसत सिकाई उपलब्धी पनि निमावी तहको भन्दा फरक छैन् ।

दरबन्दि अनुसारका विषयगत शिक्षक भएपनि अंग्रेजी, गणीत र विज्ञान विषयमा विद्यार्थी कमजोर छन् । विद्यालय तहको शिक्षामा महत्वका साथ हेरिने प्रवेशीका (एसएलसीको) नतिजा अरु कक्षाको भन्दा पनि कमजोर छ ।

२०७२ को एसएलसी परीक्षामा सहभागि भएका ६६ जना मध्य १० जनाले १.२ देखि १.६ जिपीए ल्याएका छन् । ३३ जनाले १.६ देखि २, २० जनाले २.० देखि २.४ र ३ जनाले २.४ देखि २.८ जिपीए ल्याएका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो ।

गत वर्षको एसएलसी परीक्षामा १८ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । वि.स २०६७ र २०६०को एसएलसीमा शतप्रतिशत विद्यार्थी उतिर्ण भएको यस विद्यालयको २०५९, २०६६ र त्यसअघि एक पटकको एसएलसीमा शून्य नतिजा थियो । धेरैजसो एसएलसीमा ५० प्रतिशत भन्दा बढी विद्यार्थी उतिर्ण हुन सकेका छैनन् ।

अभिभावकले छोराछोरीको पढाईप्रती चासो नदिनु, शिक्षकहरुले पढाउन जाँगर नगर्नु, विद्यार्थी विद्यालय नियमित विद्यालय नआउने, आएपनि पुरा नबस्ने, भौगोलिक बिकटता, छात्रावासको अभाव, धेरै विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने समस्याले विद्यालयको शैक्षिक गुणस्तरमा असर गरेको प्रअ अमरसिङ पुनले बताउनुभयो ।

घरपायक शिक्षक साथीहरु समयमा विद्यालय आउन्नन् । टाढा घर भएका शिक्षकहरु पनि धेरै बिदा बस्छन् । अभिभावकले छोराछोरीको पढाईको बारेमा चासो दिँदैनन् । विद्यार्थीको पढाईप्रती सक्रिय सहभागिता छैन् । विद्यार्थीमा अनुशासनको कमी पनि विद्यालयको शैक्षिक स्तर सुधारमा चुनौतीको रुपमा देखिएको छ ।

प्रअ पुनका अनुसार एकदुई जना बाहेक कुनै पनि अभिभावक विद्यालयमा आफ्ना छोराछोरीको पढाई र अन्य गतिबिधिको बारेमा बुझ्न आउँदैनन् । असार ८ गते बुधबार बिहान ११.३० बजे विद्यालय परिसरमा पुग्दा धेरैजसो कक्षाकोठामा पढाई सञ्चालन भएको थिएन् । शिक्षकहरु कक्षा ९ र १० को फर्म भर्न व्यस्त भएको भन्दै कक्षा कोठामा पढाउन गएका थिएनन् ।
शिक्षकले पढाउन नआएको भन्दै विद्यार्थीहरु खेलमैदान र बिद्यालय परिसर बाहीर गुच्चा खेल्न व्यस्त थिए । एक बजेको छुट्टी पछि विद्यार्थीहरु घर जान सुरु हुन्छ । दुई देखि तिन घण्टा हिडेर विद्यालय आउने विद्यार्थीहरु एक बजेनै घर जाने गर्छन् । रुम गाबिसको ७ नम्बर वडामा पर्ने पात्ले, घाङ्लेपानी र सुरुङखाल्टाका विद्यार्थीहरु विद्यालय पुग्न र घर फर्कन चार घण्टा पैदल हिड्छन् ।

बिहान दुई घण्टा हिडेर विद्यालय पुग्ने तथा भिर, पहरा र खोल्सा खाल्छी तथा जंगलको बाटो भएर पून उत्तिकै समय लगाई घर फर्कनुपर्ने हुँदा कक्षा छुट्ने गरेको पात्लेकी विद्यार्थी मिनाकुमारी रोकाले बताउनुभयो । ‘थकाई लागेर घरमा पढ्न र गृहकार्य गर्न पाइदैन’ रोकाले भन्नुभयो ‘भोक र थकाईले गर्दा कक्षामा सरले पढाएको पनि बुझ्न गाहे हुन्छ ।’

विद्यालयमा छात्राबासको सुबिधा नभएको र अभिभावकलाई काममा सघाउन पर्दा गृहकार्य र अध्ययन गर्न नपाएको विद्यार्थीहरुको भनाई छ । २०७२ फागुनमा रुम ३ घर भई हाल जापानमा कार्यरत लिलकृष्ण पुन (लछु)को आठ लाख ९८ हजार ५३० रुपैयाँ आर्थिक सहयोगमा सत्तरी जना क्षमत्ताको छात्रावास भवन निर्माण भएको थियो । टाढाका विद्यार्थीका लागि निर्माण भएको सो भवन लक्ष्य अनुसार प्रयोगमा आउन सकेको छैन् ।

सो विद्यालयको एउटै कोठामा एक सय जना भन्दा बढी विद्यार्थीहरुलाई राखेर पढाउने गरिएको छ । कक्षा ७ मा १०१ जना विद्यार्थी छन् । तर समूह बिभाजन भएको छैन । शिक्षक र भवन नभएकाले धेरै विद्यार्थीलाई एकै कोठामा राखेर पढाउनुपरेको प्रअ पुनले बताउनुभयो । विद्यालयमा दरबन्दिका १४ जना शिक्षक छन् । एक जना लेखापाल निजी स्रोतबाट राखिएको छ ।
अभिभावकमा चेतनाको कमी, गरिबी र सानैमा बिवाह गर्ने चलनका कारण घरमा पढ्ने वातावरण नभएर उपल्लो तहका विद्यार्थीहरुले पढ्न छोड्ने समस्या रहेको छ । कक्षा ८ देखि १० मा भर्ना हुने मध्य वर्षेनी १५ जनाको अनुपातमा पढाई छोड्ने गरेका छन् । बालबिवाह, बिदेश जाने, मजदुरी गर्नुपर्ने र घरको कामले पढ्न नपाएर विद्यालय छोडेका शिक्षकहरु बताउँछन् ।

ग्रामिण क्षेत्रमा लामो समयसम्म सञ्चालन हुने मेलाजात्राले पनि पढाईलाई असर गरेको छ । हप्तौ सम्म लाग्ने मेलामा धेरैजसो खेलाडी विद्यालय तहका विद्यार्थीहरुनै हुन्छन् । मेलाको रमाईलोमा भुलेर विद्यार्थीको पढाई डामाडोल बनेको छ । विद्यालयका शिक्षक पुरन पुनले दैनिक असी प्रतिशत विद्यार्थी मात्र कक्षा कोठामा हाँजीर हुने गरेका बताउनुभयो । एक जना विद्यार्थी महिनामा २५ दिन हाँजीर हुनुपर्नेमा बढीमा १८ दिनमात्र विद्यालय आउने गरेका शिक्षक पुनले बताउनुभयो ।

समयमा पाठ्यपुस्तक नपाउने अर्को समस्या रहेको छ । शैक्षिक सत्र सुरु भएको तिन महिना पुग्दा समेत कक्षा ६ र ७ को पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छैन् । निमावी तहमा कम्प्युटर विषयको पठनपाठन हुने यस विद्यालयलाई अरु सामाजिक विद्यालयलाई जस्तौ आर्थिक समस्या छैन् । गाउँमा रहेको ढुंगा खानीको आम्दानीको धेरै हिस्सा विद्यालयमा जाने गरेको छ ।

विज्ञान प्रयोगशाला, पुस्तकालयको सुबिधा छैन् । विद्यार्थीको चाप धेरै भएकाले कक्षा कोठामा बस्ने ठाउँको अभाव छ । शिक्षकले अगाडीबाट पढाएको पछाडी बस्ने विद्यार्थीले सुन्दैनन् । हल्ला उत्तिकै हुने गरेको छ । विद्यार्थीले शिक्षकले भनेको टेर्दैनन् । शिक्षकले कक्षामा पढाई रहँदा क्याम्पसमा जस्तो विद्यार्थी भित्र्ने र बाहीरीने क्रम चलिरहन्छ ।

विद्यार्थीलाई सम्झाई बुझाई गर्दा उनिहरुबाट असुरक्षित भइने भयले उग्र र अर्मयादीत ब्यवहार सहनुपर्ने अवस्था रहेको शिक्षकहरु बताउँछन् । दुई वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका भरत रोकाले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पहल गरेपनि नसकेर निराश बनेको दुखेसो पोख्नुभयो ।

शिक्षकलाई विद्यार्थी केन्द्रित शिक्षण बिधी अपनाउन, विद्यार्थीलाई अनुशासीत हुन, शिक्षकलाई समयमा नियमित विद्यालयमा उपस्थित हुन र अभिभावकलाई छोराछोरीको पढाइप्रती ध्यान दिन पहल गरेपनि असहयोग भएको अध्यक्ष रोकाको भनाई छ । विद्यालयको अवस्था कमजोर बन्दै गएपनि जिल्ला शिक्षा कार्यालय लगायत सरोकारवाला निकायको निगरानी, पहल र अनुगमनको कमी देखिएको छ । नवविकल्प साप्ताहिकबाट