नक्कली उपभोक्ता समितिका कारण पोखरेबगर–घार–शिख सडक आयोजना अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ असार ।
उपभोक्ता समितिको लापरबाहीले म्याग्दीको पोखरेबगर–घार–शिख सडक आयोजना अलपत्र परेको छ ।

घार र शिख गाविसलाई जोड्ने सडक मर्मत तथा सुधारका लागि प्राप्त भएको लाखौ रुपैया बजेट उपभोक्ता समितिको लापरबाही, बेवास्ता र ढिलासुस्तीका कारण फिर्ता हुने अवस्थामा पुगेको छ । जिविसले चालु आर्थिक वर्षमा तिस लाख रुपैया बजेट उपलब्ध गराएको सडक आयोजनाको काम सकिनुपर्ने समयमा दश प्रतिशत प्रगती भएको छ ।

ghara sadakसडक फराकीलो बनाउने, उकालो र खाल्डोमा ढुंगा बिच्छ्याएर (सोलीङ) गर्ने, घुम्ती सुधार गर्ने, ग्यावीन पर्खाल लगाउने र नाली बनाउने कामका लागि बैशाख ३१ गते उपभोक्ता समिति र जिविसबीच सम्झौता भएको थियो । आयोजनाको सम्झौता अवधि सकिन करिब दश दिन बाँकी रहँदा जम्मा दश प्रतिशत भौतीक प्रगति भएको उत्तरी म्याग्दीका योजनाहरुको अनुगमनमा गएर फर्कनुभएका कोष नियन्त्रक युवराज पौडेलले बताउनुभयो ।

कुन ठाउँमा काम गर्ने भन्ने विषयमा समुदायबीच बिवाद, उपभोक्ता समिति गठनमा भएको राजनितिकरण, समिति आफैले गर्नुपर्ने काम निर्माण ब्यवसायीलाई जिम्मा दिनु, ढिलासुस्ती र बेवास्ताका कारण आयोजना अलपत्र परेको अनुगमन टोलीले जनाएको छ । स्थानीय निकायको कार्यबिधी विपरीत उपभोक्ता समितिले आफूले गर्नुपर्ने काम दिगो निर्माण सेवा नामको कम्पनीलाई ठेक्कामा दिएका छन् ।

जनशक्ती अभाव र बर्खा सिजनका कारण जनसहभागीता जुटाउन नसकेपछि ठेकेदारलाई जिम्मा दिएपनि उसले समेत काम गर्न ढिलाई गर्दा समस्या परेको उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गर्बुजाले बताउनुभयो । घार देखि शिवाङ हुदै शिख र घार देखि सिधै शिख जोड्ने मध्य कुन सडकमा प्राप्त भएको बजेटले काम गर्ने भन्ने विषयमा बिवाद भएको थियो ।ghara sadak 1

पछिल्लो समय घार, खिवाङ र शिख खण्डमा छुट्टा, छुट्टै प्याकेजको काम गर्ने सहमती भएपछि बिवाद समाधान भएपनि आयोजनाको कामले गति लिन सकेको छैन् । स्थानीय बासिन्दाहरुले भने उपभोक्ता समितिका पदाधीकारी र जिविसका कर्मचारीको मिलेमतोमा कमीसन खान नियम विपरीत ठेकेदारलाई काम गर्न दिएको आरोप लगाएका छन् ।

सो आयोजनाको काम गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनी दिगो निर्माण सेवाले जिविससंग ठेक्का सम्झौता गरेको पोखरेबगर–घार सडक आयोजनाको काम पनि पुरा गर्न सकेको छैन् । सडक आयोजनाको काममा ढिलाई हुँदा स्थानीय बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

दश किलोमिटर सडकमा गाडीमा यात्रा गर्दा चार घण्टा लाग्ने गरेको शिख १ का जगबहादुर शेरपुञ्जाले बताउनुभयो । साघुरो, खाल्डाखुल्डी र उकालो सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने सडकलाई सुधार गर्न आएको बजेट पनि समयमै काम हुन नसकेर फिर्ता हुने अवस्था आएपछि स्थानीय बासिन्दाहरु उपभोक्ता समितिसंग आक्रोशित भएका छन् ।

शिख, घार गाविसका करिब एक हजार घरधुरीका साथै अन्नपूर्ण चक्रिय पदमार्गको घोडेपानी क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुले सो सडक प्रयोग गर्छन् । तस्विर ठाकुरप्रसाद आचार्य