महिलालाई सिपमुलक तालीम

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ असार ।
घरेलु तथा साना उद्योग विकास समितिले बेनी र आसपासका क्षेत्रका २४ जना महिलाहरुलाई विभिन्न सिपमुलक तालीम प्रदान गरेको छ ।

समितिद्धारा आयोजित तिन महिने ढाकाको खादा बुनाई, एक हप्ते ढाका बुनाई स्तरउन्नती र डेढ महिने ब्युटीसियन तालीमको मंगलबार बेनीमा एक औपचारीक कार्यक्रम गरि समापन गरिएको छ ।

ढाकाको खादा बुनाई तालीममा ११ जना, ढाका बुनाईमा पाँच जना र ब्युटीसीयन तालीममा ८ जना महिला तथा युवतीहरुको सहभागिता रहेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग विकास अधिकृत मिरादेवी अधिकारीले जानकारी दिनुभयो ।DSC01139

म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालीम समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, पुर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठ, सुर्दशन श्रेष्ठ लगायतले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
महिला उद्यम विकास समितिका सभापति अमृता भण्डारीको अध्यक्षता, घरेलु तथा साना उद्योग विकास समितिका खरिदार तुलसी चपाईको सञ्चालन र उद्यम विकास सहजकर्ता कबिता गुरुङको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा बोल्ने बक्ताहरुले उद्यमीहरुलाई प्रोत्साहनका लागि आयातित खादाको विकल्पमा ढाकाको खादा प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए । जिल्ला परिषद्ले सरकारी कार्यालय र संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा ढाकाको खादा प्रयोग गर्ने निर्णय गरीसकेको छ ।
निर्णयसंगै निजी क्षेत्र, सरकारी कार्यालय, गैरसरकारी संघ संस्थाहरुले ढाकाको खादा प्रयोग गर्न थालेका छन् । खादाको माग बढेपछि त्यसको सहज आपूर्तीका लागि उद्यमीहरुलाई तालीम दिइएको उद्योग विकास अधिकृत अधिकारीले बताउनुभयो ।