धारामा पानी पर्खिँदै पुरुण्डीवासी


ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
असार २२ गते ।
बेनी देखि माथिको पुरुण्डी गाउँ पुग्दा धारामा पानी थाप्नका लागि थुप्रिएका भाँडाहरु देखिन्थे । यहाँ १०/१२ घरले प्रयोग गर्नेगरी वर्षौ पहिला बनाइएका धाराहरु रहेछन् । यहाँ दिनमा मुस्किलले एक देखि दुईघण्टा मात्र पानी आउछ । यहाँ बसोबास गर्ने करिब एकसय घरधुरीलाई पिउने पानीको निकै समस्या छ ।

बर्खायाममा केही सहज भएपनि पुस देखि असार सम्म पानीको हाहाकार नै छ । पानीका ट्याङ्की र धाराहरु बनेपनि योजना पुरै सम्पन्न हुन वाँकी छ । आँगनमा धारा त बने तर पानीको सीमित स्रोतका कारण आवश्यकता अनुसारको पानी पुग्ने कुरामा अझै पुरुण्डीवासीहरु ढुक्क छैनन् । बेनी नगरपालिकाले खानेपानीको समस्या भोगेको पुरुण्डीको वस्तीमा खानेपानी सुविधा उपलब्ध गराउन योजना संचालन गरेको छ ।

एक गाग्री पानी लिन घण्टौं लाइन वस्नुपर्ने बाध्यता अहिले पनि पुरुण्डीवासीको छ । पालो पर्खिदा धारामा पानी सुकेर रित्तो गाग्री लिएर घर फर्किनु परेको कुनैदिनको सम्झना डिलबहादुर परियारलाई अझै छ । स्थानीय ध्रुव परियारलाई पनि विहान बेलुका पानीकै चिन्ता छ । घरको आँगनमा बनेका धाराबाट पानी आउने आशामा परियार हुनुहुन्छ ।
पुरुण्डीवासीले भोगेको पानीको समस्या समाधान गर्न बेनी नगरपालिकाले अहिले एक घर एक धारा योजना संचालन गरेको छ । योजना अन्तर्गत पुरुण्डीवासीहरुको घरघरमा पानीका धारा बनेका छन् । पुरुण्डीवासीहरुको सपना पुरा गर्न ७० लाखको लागतमा पुलाडाँडा पुरुण्डी खानेपानी योजना अहिले निर्माणधिन छ । आँगनमा पानीका धारा बनेपछि पुरुण्डीवासीहरुको पानी आउने आशा पलाएको छ ।

पिउने पानीको धेरै समस्या भोगियो,एक गाग्री पानी लिन घण्टौं सम्म पनि पालो पर्खिनुपर्ने बाध्यता छ घरको आँगनमा बनेको धारो देखाउँदै डिलबहादुरले भन्नुभयो, ‘‘धारा बनेपछि पानी आउने आशा जागेको छ । अब त हाम्रा दुःखका दिन जान्छन् होला । दुईचार महिना भित्रमा धाराबाट पानी खस्छ भन्छन् । पानी आउने दिन पर्खिएर बसेका छौं ।’’
‘‘गाउँको सिरानमा बनेको पानीको ट्याङ्की देखाउँदै खुसी हुँदै हामीलाई आवश्यक पर्ने पानी यही जम्मा हुन्छ ’’ उहाँले भन्नुभयो । चन्द्रदेवी परियार पनि आँगनमा पानीका धारा बनेपछि खुसी हुनुहुन्छ । एक गाग्री पानी लिन एक घण्टा पैदल हिड्नुपरेको सम्झिदै उहाँले गाउँदेखि माथि बनेको पानी ट्याङ्की देखाउँदै भन्नुभयो, ‘‘ठूलो पानीको ट्याङ्की निर्माण भइसकेको छ । घरको आँगनमा पनि धारा बनेका छन् । अब त कसो पानी नहाउला र !’’
चनौटे स्थित पानीको स्रोतलाई पाइलाइन मार्फत पुरुण्डीमा निर्माण भएको ट्याङ्की जम्मा गरेर पानी वितरणको तयारी गरिएको छ । योजनामा ३० घनमिटरको एकवटा र २० घनमिटरको दुईवटा ट्याङ्की निर्माण भएका छन् । १२ वटा वितरण च्याम्बर निर्माण गरिएको छ ।

एकसय ५ वटा निजी धारा निर्माण भइसकेका छन् भने केही धाराहरु निर्माण गर्नुपर्ने छ । बृहत घोप्टेखोला खानेपानी आयोजनाको पानीलाई समेत स्रोत मानेर योजना निर्माण गरिएको छ । योजनाको साइट इन्जिनियर गौरीश्वर रिजालका अनुसार योजना अन्तिम चरणमा पुगेको र फिनिसिङ र फिटिङको काम मात्र बाँकी रहेको बताउनुभयो । यही असार मसान्त सम्ममा योजना सम्पन्न गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।

संघीय सरकारको बजेटबाट निर्माण हुने योजना सम्पन्न गर्न बानियाँ निर्माण सेवासँग बेनी नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार असार मसान्त भित्रमा योजना सम्पन्न गर्नुपर्दछ । असार मसान्त भित्र योजना सम्पन्न हुन नसके आगामी आर्थिक वर्षका लागि बजेट प्राप्त नभएकाले योजना अधुरै हुने खतरा बढेको छ ।
पुलाचौरका करिब आठसय घरधुरी मध्य पाँचसय घरधुरीमा निजी धारा निर्माण भएर शुद्ध खानेपानीको उपभोग गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै वडावासीहरुलाई खानेपानीको सुविधा उपलब्ध गराउन प्रयास गरेको देखिन्छ ।
पानीको स्रोतको अभाव र योजनामा बजेटको सिमिताका कारण वडावासीहरुलाई पिउने पानी उपलब्ध गराउन चुनौती खडा भएको वडाध्यक्ष गोबिन्दबहादुर बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षौ देखि खानेपानीको चरम अभाव भोग्दै आएको पुरुण्डीको वस्तीमा खानेपानी सुविधा विस्तारका लागि योजना निर्माणधिन अवस्थामा छ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले बजेट उपलब्ध नगराउँदा योजना अधुरै हुने चिन्ता बढेको छ ।’’ योजना पुरा नहुँदै संघीय सरकारले बजेट कटौती गरेकाले बजेट व्यवस्थापन गरेर योजना सम्पन्न गर्न कठिन हुने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नगरवासीहरुलाई सुद्ध खानेपानीको सुविधा उपलब्ध गराउन प्रदेश सर संघ सरकारसँगको सहकार्यमा ‘एक घर एक धारा’ निर्माणको आयोजना अघि बढाइएको छ । कतिपय वस्तीहरुमा संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुले ठूला तथा साना आयोजना संचालन गरेका छन् ।’’

खानेपानी समस्याबाट मुक्त गाजनेवासी

खानेपानीको चरम समस्या भोगेका बेनी नगरपालिका ५ को गाजनेवासीहरुको घरको आँगनमा पानीका धारा बनेपछि खुसी भएका छन् । वर्षौ देखि पिउने पानीको समस्या भोग्दै आएका गाजनेवासीहरुलाई पिउने पानी उपलब्ध गराउन बेनी नगरपालिकाले एक घर,एक धारा सहितको खानेपानी आयोजना सम्पन्न गरेको छ ।

बेनी नगरपालिकाले खानेपानीको समस्या भएका वस्तीहरुमा योजना संचालन गरेर नगरवासीहरुको जीवनशैलीमा परिवर्तन ल्याउने प्रयास अनुसार गाजने सहित चारवटा वस्तीमा खानेपानीका आयोजना संचालन गरेको छ । गाजने सहित नयाँगाउँ, ढोलीसिरान र कुवापानीमा निजी धारा जडान गरेर घरघरमा खानेपानी वितरण गरेको छ । गाजने–ढोलथान–नयाँगाउँ खानेपानी तथा सरसफाई आयोजना मार्फत एकसय १२ घरधुरी लाभान्वित भएका छन् ।

गान्धेमा रहेका विभिन्न ठाउँका मुहानको पानीलाई टंकी बनाएर एकिकृत गरि घरघरमा धारा बनाएर वितरण गर्ने व्यवस्था मिलाइएको छ । गाजनेको बस्ति माथि मुहान नभएकाले लिफ्टीङ गरिएको छ । उक्त योजना ८४ लाख रुपियाँमा सम्पन्न गरिएको छ ।

बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका उपभोक्ताहरु आयोजना निर्माण भएपछि खुसी भएका छन् । गाजनेका निलकण्ठ शर्माले निजी धाराबाट पानी वितरण भएपछि समयको बचत र झञ्झन हटेको बताउनुभयो । हिउँदमा घण्टौ पालो कुरेर कुवा र मुहानमा पुगेर पानी ओसार्नुपर्ने समस्या थियो, उहाँले भन्नुभयो “आँगनकै धारामा पानी आउन थालेपछि समयको बचत भएको र स्थानीयको दैनिकी फेरिएको छ ।” खानेपानीका कारण सिर्जना हुने सामाजिक विवाद र द्धन्द्ध हटेको छ ।

पन्ध्रौ शताब्दीमा निर्माण भएको जगन्नाथ रहेको गाजनेका २५ घरधुरीका लागि गान्धेको मुहान देखि बस्तीमाथिको टंकीमा पानी ‘लिफ्ट’ तानिएको छ । जगन्नाथ धार्मिक र गाजने नजिकैको गुफाको डाँडा पर्यटकीय स्थल हो ।

खानेपानी समस्या भोगेका वस्तीहरु

वडा नम्बर ५ का केही वस्तीहरुमा अझै पनि खानेपानीको समस्या छ । पानीका धाराहरु बनेपनि स्रोतको अभावका कारण ६ महिना मात्र मुस्किलले पानी धारामा आउँछ । हिउँदका समयमा कुवा र बलेनी पानीकै भर पर्नुपर्ने अवस्था छ । पुलाडाँडा,बाच्छाबान्ना,लाटा स्वारा,नेपाने,अवैचौर,भिरमुनी,नयाँगाउँ,पुलाचौरको माथिल्लो क्षेत्र र पुरुण्डीमा पानीको अभाव छ । योजना सम्पन्न भएर पानीका धारा बनेपनि पानीको स्रोतको अभावका कारण बाह्ै महिना धारामा पानी नआउने समस्या छ वडाध्यक्ष गोविन्द बहादुर बानियाँले भन्नुभयो, ‘‘घरघरमा पानीका धारा त बने तर मुस्किलले ६ महिना मात्र पानी खस्छ ।

त्यसपछि कुवाको भरपर्नुपर्ने हुन्छ । पानीको अभाव रहेका वस्तीहरुमा खानेपानीको सुविधा पु¥याउन पहल गरेपनि सम्भव भएको छैन । बृहत घोप्टेखोला खानेपानी आयोजनालाई पानीको स्रोत मानेर कतिपय धाराहरु बनेका छन् ।’’ यस क्षेत्रको खानेपानी समस्यालाई समाधान गर्न वृहत घोप्टेखोला खानेपानी आयोजना छिटो सम्पन्न हुनुपर्ने उहाँको भनाई छ । बेनी नगरपालिकाको सहयोगमा तयार पारिएको