घोडेपानी क्षेत्रको लालीगुराँसमा रमाउँदै पर्यटक(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,चैत ९ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाडाँपाखाहरु यतिखेर ढकमक्क फुलेको लालीगुराँसले छोपिन थालेका छन् । लालीगुराँसले डाडाँपाखाहरु रमणीय देखिन थालेपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको घोडेपानीमा चहलपहल बढेको छ ।नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र मनमोहक देखिन्छ ।

#ADV

तीन महिना सुनसान बनेको यस क्षेत्र फागुनको दोस्रो साता देखि पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको छ । घोडेपानी र पुनहिल आसपासमा फुलेका लालीगुराँसमा रमाउँदै फोटो / भिडियो खिच्ने पर्यटकको भीड लाग्न थालेको छ ।
दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुनथालेको घोडेपानीका होटल व्यवसायी क्या.डमबहादुर गर्बुजाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पर्यटक याम सुरु भएसँगै घोडेपानीका होटलहरु बुक हुन थालेका छन् । दैनिक एकसय देखि एकसय पचास जनासम्म विदेशी पर्यटक आएका छन् । लालीगुराँसमा रमाउने आन्तरिक पर्यटकको पनि संख्या वृद्धि हुनथालेको छ । पर्यटक आगमन बढेसँगै होटल व्यवसायीहरु उत्साहित भएका छन् ।’’ बैशखको पहिला सातामा डाडाँपाखाहरु लालीगुराँसले अझै ढकमक्क भएर सुन्दर देखिने उहाँले बताउनुभयो ।

सूर्योदय,हिमश्रृङ्खलाको दृश्य र गुराँसको जंगल अवलोकनका लागि दैनिक रुपमा एकसय देखि एकसय पचास जना सम्म विदेशी पर्यटक पुनहिल जाने गरेको पुनहिलमा टिकटको व्यवस्थापन गर्दै आउनुभएका अमृत पुनले बताउनुभयो ।

घोडेपानीको भ्रमणमा पहिलो पटक आउनुभएका जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाका अध्यक्ष बिरबहादुर गिरीले घोडेपानी निकै रमाइलो भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘डाँडापाखाभरी फुलेको लालीगुराँसले निकै रमाइलो महशुस भयो । लालीगुराँसको जंगल र हिमालको सुन्दर दृश्यले मन फुरुङ्ग भयो ।’’

घोडेपानी र पुनहिल क्षेत्रमा लालीगुराँसको फूल टिपेमा पाँचहजार रुपियाँ सम्म जरिवाना गर्ने नियम बसालेका छन् । भने तत्लो क्षेत्र खिबाङ,घार,शिख मा भने लालीगुराँसबाट बनेका माला लगाइदिएर पर्यटकलाई स्वागत गर्ने गरिन्छ ।

हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जंगल अवलोकनका लागि घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट एकदर्जन भन्दा बढी हिमश्रृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।साभार ः गोरखापत्र अनलाइन