गलेश्वरमा कालिगण्डकी स्नान गर्न जाने पैदल मार्ग निर्माण

ठाकुरप्रसाद आचार्य /बेनी
चैत १ गते ।

म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिर देखि कालिगण्डकी स्नान गर्न जाने पैदलमार्ग निर्माण गरिएको छ । पैदल मार्ग निर्माण भएपछि गलेश्वर दर्शन गर्न आएका भक्तजनहरुलाई कालिगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ ।

भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत गलेश्वर मन्दिरको गेट देखि कालिगण्डकी नदी किनारमा पुग्ने पाँच मिटर चौढाई भएको करिब एकसय २५ मिटर दूरीको पैदलमार्ग निर्माण गरेको हो । साँघुरो र अप्ठ्यारो बाटोलाई कटिङ,ढलान,ढुङ्गा छपाई,पर्खाल तथा रेलिङ निर्माण गरेर सहज पारिएको छ । ढलान गरिएको बाटोको दाया तर्फ ढुङ्गा छपाई गरेर सिँढी निर्माणका साथै रेलिङ हालेर चिटिक्कको पदमार्ग निर्माण गरिएको छ ।

उपभोक्ताको जनश्रमदान सहित ४२ लाख ६७ हजार दुईसय ३९ रुपियाँ लागतमा ढलान सहित पदमार्ग निर्माण गरिएको हो । उक्त योजना कार्यान्वयनका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बिनियोजन गरेको ३८ लाख चालिस हजार र जनसहभागिताबाट ४ लाख २७ हजार दुईसय ३९ रुपियाँ खर्च भएको उपभोक्ता समितिका सचिव तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । उपभोक्ता समितिको सक्रियताका कारण लक्ष्य भन्दा तीन महिना अगावै योजना सम्पन्न गरेको उहाँले बताउनुभयो ।

वि.स. २०८१ जेठ २५ गते भित्र निर्माण सम्पन्न गर्न पुसको २५ गते योजना सम्झौता भएको थियो उपभोक्ता समितिका सचिव बानियाँले भन्नुभयो, ‘‘योजना सम्पन्न गर्नुपर्ने मिति भन्दा तीन महिना अगावै योजना सम्पन्न गरेका छौं ।’’

ढलान गरेर तयार पारिएको बाटोको छेउमा करिब एकसय मिटरमा ढुङ्गा छपाई गरेर रेलिङ सहितको सिँढी बनाइएको उहाँले बताउनुभयो । पैदल हिडेर स्नान गर्न जाने भक्तजनहरुलाई सहज होस् भनेर सिँढी सहितको पदमार्ग तयार पारिएको सचिव बानियाँले जानकारी दिनुभयो । पैदल मार्ग निर्माण भएपछि भक्तजनका साथै गलेश्वरका स्थानीय र घतानवासीहरुलाई कालिगण्डकी घाट सम्म पुग्न समेत सहज भएको छ । साभार गोरखापत्र अनलाइन