मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य
म्याग्दी,पुस १५ गते ।


म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पालिकाको वडा नम्बर ५ स्थित कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले विद्यालय स्तरमा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रत्येक विद्यालयमा व्यवस्थित खेलकुद मैदान निर्माण र खेलकुद सामाग्रीको व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘‘खेलाडी उत्पादन हुने नै विद्यालय स्तरबाट हो । विद्यालय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल प्रतिभाको पहिचान र क्षमता विकासमा टेवा पु¥याउँछ । त्यसैले विद्यालय स्तरमा खेल पूर्वाधार निर्माण गर्न स्थानीय तह र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन् ।’’

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश ः ३० हजार र २० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका सूचना अधिकारी राजेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधामा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउनका लागि अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाको केन्द्र बावियाँचौरबाट बाजागाजासहित विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले मार्च पास गरेर कार्यक्रमस्थल पुगेका थिए ।

गाउँपालिकाका सूचना अधिकारी आचार्यको संचालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितका उपप्रमुख डिलकुमारी आचार्य,प्रहरी नायब उपरिक्षक मदन कुँबर,राष्ट्रिय अनुशन्धानका अधिकृत बिजय पौडेल लगायतको उपस्थित रहेको थियो । वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता एकजित रोकाले स्वागत गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटनका अवसरमा विभिन्न विद्यालयका शिक्षिका र पालिकाका कर्मचारीहरुले नृत्य प्रस्तुत गरेका थिए ।