विकल्प न्यूज\बेनी
भदौ ३० गते ।
म्याग्दीको मालिका गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न ११ बुँदे मालिका गाउँपालिका घोषणापत्र जारी गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालयमा बाल बालिकाहरुको सबालमा छलफलका लागि आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो ।
सामाजिक विकास कार्यालय, म्याग्दी र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा जनप्रिय माविमा रहेको जनप्रिय बाल क्लबको आयोजना, मालिका गाउँपालिकाको समन्वय र संगम म्याग्दीको सहजीकरणमा आयोजित बाल कचहरीमा गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला र विद्यार्थीहरुबिच बालअधिकारको अवस्था, बालमैत्री वातावरणको आबश्यकता र बाल बालिकाको संरक्षणको सन्दर्भमा बहस भएको थियो ।
#ADV
बाल कचहरीमा भएको वृहत छलफल तथा वहस पश्चात सम्पुर्ण सरोकारवालाहरुले बाल अधिकारका चार स्तम्भहरु बाच्न पाँउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारहरु बालवालिकाको नैंसंगिक अधिकार भएकाले यिनको परिपालना र कार्यान्वयनमा प्रतिवद्धता जाहेर गरेको जनप्रिय मावि दरबाङका प्रधानध्यापक दिवाकर सुवेदीले जानकारी दिनुभयो ।
घोषणापत्रमा बाल विवाह, विभेद, बाल मजदुर जस्ता सामाजिक कुस्साकारका विरुद्ध सामुहिक आवाज उठाउन र त्यस्ता घटनाहरुको न्यूनिकरणमा कटिवद्ध भएर लाग्ने प्रतिबद्धता जनाईएको छ । त्यसैगरि विद्यालयमा बाल मैत्री वातावरण निर्माणमा विशेष जोड दिने र विभिन्न भौतिक संरचना निर्माणलाई बाल मैत्री बनाउने, प्रविधिमैत्री शिक्षामा जोड दिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
बाल बचहरीमा सहभागी विद्यार्थीहरुले सरकारले विद्यालयमा उपलब्ध गराएको सेनेटरी प्याड गुणस्तरहिन रहेको,बाल विवाह न्यूनिकरण हुन नसकेको, विद्यालयका संरचनाहरु बलमैत्री बन्न नकसकेको, विद्यालयका क्यान्टिनहरुमा पोषणयुक्त परिकार बन्न नसकेको गुनासो गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले महिनावारी सरसफाई व्यवस्थापनका लागि उपलब्ध गराइदै आएको सेनेटरी प्याडको निरन्तर रुपमा गुणस्तर अनुगमन गर्ने र गुणस्तरिय प्याड उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
विहेवारी विस वर्ष पारी भन्ने मुल नारालाई आत्मसाथ गर्दै बाल विवाह जस्तो सामाजिक कुसंस्कार तथा कानुनी अपराधको विरुद्ध एकजुट भएर लाग्न आबश्यक रहेकोमा जोड दिँदै उहाँले शैक्षिक गुणस्तर वृद्धि गर्न भौतिक कक्षा संगसंगै अनलाईन कक्षाहरु र प्रविधि मैत्री शिक्षामा जोड दिने बताउनुभयो । बाल कचहरीमा सरोकारवालाहरुबाट प्रतिबद्धता भएर जारी भएको घोषणा पत्रलाई आगामी दिनमा व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान निरन्तर पैरवी गर्ने गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला परियोजना संयोजक रमेश बुढाले जानकारी दिनुभयो ।बाल कचहरीको पत्रकार कमल खत्रीले सहजीकरण गर्नुभएको थियो ।
करिब एक हजार पाँच सय विद्यार्थी पुरस्कृत
राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा करिब १ हजार पाँच सय विद्यार्थी पुरस्कृत भएका छन् । राष्ट्रिय बाल दिवस–२०८० को अवसरमा सामाजिक विकास कार्यालय, म्याग्दी र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा दुई वटा पालिकामा रहेका ६७ वटा सामुदायिक विद्यालयमा विद्यालय स्तरका ४११ वटा प्रतियोगिता र १३ वडा वडामा वडा स्तरीय ५२ वटा प्रतियोगिता सम्पन्न गरेर १ हजार ४३९ जना बालबालिका पुरस्कृत भएको गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला परियोजना संयोजक रमेश बुढाले जानकारी दिनुभयो ।
धवलागिरि गाउँपालिकामा गल्स फष्ट फण्डले समेत दिवसका अवसरमा आयोजित अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग गरेको थियो । बालदिवसको अवसरमा आयोजित प्रतियोगिताहरुमा ३ हजार ५ सय जना बढी बालबालिकाहरुले सहभागीता जनाएका थिए । दिवसको अवसरमा बालविवाह न्यूनीकरणको बिषयमा जनचेतनामुलक नाटक प्रदर्शन, विद्यालय र वडा स्तरीय चित्रकला, निवन्धलेखन र बतृत्वकला प्रतियोगिता र मैत्रीपूण भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।