स्वास्थ्य सामाग्री लिन आज चीन जाँदै जहाज, आधा स्वास्थ्य सामाग्री आइसकेको सेनाको भनाइ

बुधबार, जेठ १४, २०७७

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।

चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामाग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलेबताए।

‘आज साँझ वाइडवडी चीन जाने तय भएको छ। ग्वाङ्जाओ स्वास्थ्य सामाग्री लिएर भोलि फर्किन्छ’, सैनिक प्रवक्ता पाण्डेले भने,’चीनबाट २८.६६ टन स्वास्थ्य सामाग्री ल्याउने योजना छ।’

सैनिक प्रवक्ता पाण्डेका अनुसार जहाजबाट स्वास्थ्य सामाग्री लिएर आउने यो अन्तिम उडान हो।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३ सय ४१ टन स्वास्थ्य सामाग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना बनाएको थियो।

यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य समाग्री जहाजबाट आइसकेको छ।

सडकबाट ल्याउने स्वास्थ्य सामाग्री क्युविक मिटर अनुसार ल्याइने भएकाले २ हजार ६ सय ६२ क्युविक मिटर ल्याइने सैनिक प्रवक्ता पाण्डेले बताए।

‘अहिलेसम्म १ हजार २ सय क्युविक मिटर आइसकेको छ’, उनले भने,’तातोपानीबाट ५ वटा ट्रक हिडिसकेको छ।खासामा पनि आउने क्रम जारी छ। हामीले झण्डै आधा सामाग्री काठमाडौं ल्याइसकेका छौ।’

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।

वैशाख पहिलो साता सेनाले ३ सय ४१ टन स्वास्थ्य सामाग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो।

ती स्वास्थ्य सामाग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ।

चीनबाट सेनाले ६७ प्रकारका स्वास्थ्य सामाग्री ल्याउँदैछ। setopati