सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन ९ गते ।
म्याग्दीको भुरुङ्ग तातोपानी गाविसको ठूलो बगरमा स्थानीय बासिन्दाले सामुहिक कुखुरापालन गरेका छन् ।
भुरुङ्ग तातोपानी ७ र ८ को ठूलोबगर कटुञ्जे नागरीक सचेतना केन्द्रका सदस्यहरुले छ लाख रुपैयाँ भन्दा बढी लगानी गरेर अण्डा उत्पादनका लागि कुखुरापालन गरेका हुन् ।
विपन्न तथा पछाडि परेका समुदायको आयआर्जन वृद्धी गरि सामाजिक तथा आर्थिक हैसियत वृद्धी गर्ने उद्देश्यले सामुहिक कुखुरापालन गरेको केन्द्रका संयोजक बुद्धी पुनले जानकारी दिनुभयो ।
जिविसद्धारा सञ्चालित स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रमको सहयोगमा केन्द्रका २५ जना सदस्यहरुले कुखुरापालन गरेका हुन् । कुखुरापालनका लागि ६ लाख १५ हजार रुपैयाँ लगानी भएको संयोजक पुनले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमले कुखुरापालनका लागि भवन बनाउन तिन लाख १५ हजार र विउ पुजी वापत एक लाख रुपैयाँ सहयोग गरेको थियो । केन्द्रका सदस्यहरुले थप दुई लाख रुपैयाँ सेयर संकलन गरेर लेयर्स जातका एक हजार वटा कुखुरा पालेका संयोजक पुनले जानकारी दिनुभयो ।
गत असोजमा सुरु गरिएको कुखुरापालनबाट माघ महिनादेखि उत्पादन लिन थालेका छन् । हाल दैनिक सात सय देखि आठ सय गोटा अण्डा उत्पादन हुने गरेको छ । उत्पादीत अण्डालाई प्रति क्रेट ३४० रुपैयाँका दरले बिक्री गरिएको कुखुरापालन फार्मका कर्मचारी गुनबहादुर राम्जालीले बताउनुभयो । उहाँका अनुसार हालसम्म ९५ हजार २०० रुपैयाँ मूल्य बराबरको ४८० क्रेट अण्डा बिक्री भैसकेको छ । भुरुङ्ग तातोपानी, दाना, पोखरेबगर, दोवा, घार क्षेत्रमा अण्डा खपत हुने गरेको राम्जालीले जानकारी दिनुभयो ।
उक्त नागरीक केन्द्रका सदस्यहरु सामुहिक आयआर्जनका क्रियाकलापसंगै विकास निर्माण, विकृती तथा सामाजिक समस्या न्युनीकरण र जागरणका अभियानमा सक्रियताका साथ सहभागि हुने गरेका छन् । हरेक महिनामा अनिवार्य एक पटक केन्द्रको बैठक बस्ने गरेको छ । बैठकमा गाउँको समस्या देखि सरसफाई, स्वास्थ्य, पोषण, शिक्षा लगायत विषयमा छलफल हुने गरेको सहजकर्ता संगिता पुनले बताउनुभयो ।
उहाँका अनुसार नागरीक सचेतना केन्द्रको पहलमा बालबिवाह, मदिराको अब्यवस्थित बिक्री वितरण तथा सेवन, जुवातास, घरेलु हिंसा र जातीय बिभेद न्युनीकरणका लागि केन्द्र मार्फत पहल गरिएको छ । लामो समयदेखि जनप्रतिनिधि विहीन भएका बस्तीहरुमा विकास निर्माणका लागि सचेतना केन्द्र र वडा नागरीक मञ्चले पुलको काम गर्दै आएका छन् ।
म्याग्दीको बेनी नगरपालीकामा ६ र ३५ वटा गाविसको सबै भन्दा पिछडिएको र विपन्न समुदायको बसोबास रहेको ठाउँमा ४१ व्टा नागरीक सचेतना केन्द्र रहेका जिविसका शाषन विज्ञ सन्तोष पन्थिले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम विकासमा जनसहभागिता वृद्धीका साथै उनिहरुको नेतृत्व तथा क्षमत्ता विकास र आयआर्जन वुद्धी गराउन प्रभावकारी बनेको छ ।