ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

माघ २०, २०७६

काठमाडौँ  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ । अर्न्तराष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो ।

‘एलपी ग्यासको औसत खरिद मूल्य बढेको छ। स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्दा प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्ने देखिन्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि नै लागू हुन्छ।’

नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ। निगमले पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा भने प्रतिलिटर १/१ रुपैयाँको दरले घटाएको छ। नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मटि्टतेल९९/९९ रुपैयाँ पर्ने निगमले जनाएको छ। यस्तै, हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। ekantipur