किन लेख्न मनलाग्योे “कुरिलाखर्के महारानी”को कथा ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
असोज ६ गते ।
मानिसलाई समयले कुदाउँछ भन्ने भनाईसंग सम्पूर्णतः सहमत हुन सकिदैन । मानिसलाई लहडले लतार्छ । जीवनको उत्तरार्धमा लेखनतिर मलाई कुदाउने मेरो लहड हो । ज्ञान, सीप, कला, महत्वाकांक्षाले होइन । जाँगर पनि उति छैन । कलम घोट्ने जमानाको सिकाई, जमाना कम्प्युटरको ! तालमेल मिलाउनै गाह्रो छ । कलम चलाने नै हो भने समाजलाई नयाँ पुराना कुराहरु जानकारी गराउने विषयवस्तु किन नरोज्ने ? लेखनको प्रेरणा त्यही हो । सत्य तीतै हुन्छ । तीतो टर्रो पचाउने क्षमता सबैमा हुँदैन । जसले पचाउन सक्तैन उसले डकार्छ । अमिलो नै भए पनि डकारको गन्थ त्यसअर्थमा स्वाभाविक हो भन्ने लाग्छ । यसपटक महारानीको कथालाई पुस्तकाकार दिने लहड चल्यो ? आशा छ यसले कसैको मर्ममा चोट पु¥याउने छैन ।

कालीगण्डकी र म्याग्दी नदीको सङ्गममा बसेको ‘वेनीबजार’ । वेनीबजारको पश्चिमखण्डमा अवस्थित ‘कुरिला–खर्क’ । त्यही खर्कमा स्थापित ‘महारानी–स्थान’ । डोटेली खस भाषामा ‘माडौंं’ भनिने देवीदेवताका मन्दिरलाई कर्णाली भेकको खस लवजमा ‘थान’ भनिन्छ । गण्डकी क्षेत्रमा मन्दिरको विकल्पको रुपमा ‘स्थान’ को प्रयोग बाक्लै हुन्थ्यो । बाग्लुङ्गको माईस्थान, पोखराको विन्द्यवासिनीस्थान भनेजस्तै वेनीको सेरोफेरोमा ‘स्याउला थान” भनेर लोकप्रचलित बनेको एउटा मन्दिर छ । मन्दिरमाथि वरको रुख झाङ्गिएको हुनाले झट्ट हेर्नेदेख्ने मानिसहरुले स्याउलाको थान भनिनुको कारण त्यहीे होला भनेर अनुमान गर्न सक्छन् । बरको रुखलाई मन्दिरको विशेषता मान्नेहरु पनि छन् । यथार्थमा त्यो मन्दिरको नाम ‘शिवालयस्थान’ हो । कुरिलाखर्कको महारानीस्थानमा पूजिने देवी महारानीको कथा वेनीको दोविल्लास्थित शिवालय स्थापनासँग जोडिन्छ भन्ने जनश्रुति रहेको छ ।

कुरिलाखर्ककी महारानीको इतिहास खोज्दै जाँदा ठ्याक्कै तीन शताब्दी पुँडो पुगिन्छ । तीन शताब्दीपूर्वको त्यही इतिहासलाई आधार बनाएर “महारानी” उपन्यास लेखिएको छ । यो कथा बाईसी चौबीसी राज्यकालको हो । चौबीसी राज्यहरुमध्यको ‘मलेवम प्रदेश’ भनेर लोकप्रसिद्ध ‘सोह्रहजार पर्वत राज्य’को हो ।

कुरिलाखर्कको महारानीस्थानमा देवी पूजिन्छ । पूजिने देवीको लोकप्रचलित नाम भने ‘महारानी’ रहेको छ ! रानी÷महारानी राजाका श्रीमतीहरुलाई गरिने सम्बोधन–संज्ञा हो । कुरिलाखर्कमा पूजिने महारानीको वैवाहिक सम्बन्ध कुनै राजारजौटासँग भएको इतिहासले प्रमाणित गर्दैन । यो ऐतिहासिक तथ्यले देवीको प्रचलित नाम आफैमा अद्वितीय जस्तो लाग्दछ । नमिलेजस्तो लाग्छ । अनौठो लाग्छ । महारानी किन भनियो भन्ने जिज्ञासा उत्पन्न हुन्छ ।

कुरिलाखर्कमा कहिलेदेख महारानीको नाममा पूजा दिन थालिएको हो भनेर खोजीपाँसुली गर्दा निस्कने तथ्यले अर्को आश्चर्यजनक कथा भन्छ । महारानी अलप भएको पूरापूर दुई शताब्दीपछि जन्मिएका एकजना श्रद्धालुले गाइगोठमा गरिने छमासिक गोठधुपको सन्दर्भमा किन कसरी हो कुन्नी महारानीलाई समेत धुप, धजा, अक्षता चढाउन थालेछन् । त्यसैको विकसित विस्तारित रुपमा वर्तमानको महारानी पूजा हो ।

त्यसको अर्थ महारानीको नाममा पूजा अर्चना गरिने परम्परा नभएपनि महारानीको स्मरण स्मृति जनमानसले गर्दै आएको रहेछ र महारानीको कुरिलाखर्कसँग कुनै न कुनै साइनो सम्बन्ध जोडिँदो रहेछ भन्ने कुरा प्रमाणित हुन्छ । अर्थात किम्वदन्तिकै रुपमा भएपनि दुई शताब्दी पुरानो महारानीको इतिहास कथा समाजमा जीवित रहेछ भन्नुपर्ने हुन्छ । सदियौसम्म महारानीलाई सम्झनुपर्ने कुनै विशिष्ट कारण अवश्य हुनुपर्छ भनेर अनुमान गर्न सकिन्छ ।

कालक्रममा पर्वत राज्यको अस्तित्व समाप्त भयो । पर्वतको राजधानीको गौरवबाट वेनीबजार वञ्चित भयो । झण्डै सात दशक गुमनाम रहेको वेनीबजार २०१८ सालपछि पुनः ब्युझियो । वेनीको बगर बजारमा रुपान्तरित भयो । वेनीबाजारमा जिल्ला सदरमुकाम बसेपछि स्वभावतः बजारको आवादी बढ्दै गयो । जनआवादीको विस्तारसँगै महारानीको महिमामण्डन हुँदै गयो । म्याग्दी जिल्लाको सन्दर्भमा गलेश्वरपछिको दोश्रो सर्वाधिक चर्चित र मनितो हुने देवधामको रुपमा महारानीस्थान स्थापित भएको छ ।

महारानी को थिइन ? उनलाई किन महारानी भनियो ? कुरिलाखर्कसँग उनको के सम्बन्ध थियो ? प्रारम्भमा ‘देउती’को रुपमा पूजिने महारानी कसरी ‘देवी भगवती’ मा फेरिइन् ? देवीको रुपमा पूजिने महारानीको नाम के थियो ? महारानी थिइन् भने उनी कुन देशकी महारानी थिइन् ? कुनै राजामहाराजासँग उनको विहे भएको थिएन भने उनी कसरी महारानी कहलिइन् ? उनको माइती कहाँ थियो ? घर कहाँ थियो ? सबैका मनमा यस्ता जिज्ञासाहरु उठ्नु स्वाभाविक हो ।
उधौली उभौलीको अवसरमा जसले महारानीलाई नियमित पूजा दिने परम्परा बसाल्यो उसैलाई उल्लिखित प्रश्नहरुको उत्तर सायदै थाहा थियो होला । थाहा हुन्थ्यो भने महारानीसँग उनको असली नाम पनि जोडिएर आउँथ्यो । नाम गोत्र उच्चारण गरेरै पूजा दिने परम्परा बस्थ्यो ।

महारानीका आफ्ना सन्तान थिएनन् । सन्तान नभएपछि हिन्दू परम्पराको श्राद्धतर्पण पाउने अवस्था पनि थिएन । पिण्डतर्पण पाउने जम्मा अवधि तीनपुस्ताको हो । महारानी भने आफ्ना सन्तान आफन्त नभए पनि पराइहरुबाटै शताब्दीयौं शताब्दीसम्म पूजा अर्चना पाउने भाग्यमानी किन कसरी बनिन् त ?!

इतिहासको गर्भमा विलुप्त भएको त्यही रहस्यमयी कथाको सत्य तथ्य कोट्याउने कोशिसस्वरुप यो कथानक तयार भएको हो । यो कथाको पृष्टभूमि इतिहास हो । तर कथानक सम्पूर्ण इतिहास भने होइन । समाजमा भनिदै सुनिदै आएका लोककथन र किम्वदन्तिहरुको तथ्यगत विश्लेषणको कोशिस हो । त्यस अर्थमा सम्भावित सत्य तथ्यमा आधारित भएर गरिएको इतिहास पुनर्लेखनको अभ्यास हो ।

यो तात्कालीन समाजको कथा हो । आधार इतिहास हो । कथा काल्पनिक हो । तैपनि अधिकांश घटनावलि, पात्र र भाषा इतिहासबाट लिने कोशिस भएको छ । अर्थात यो कथानक न पूर्ण इतिहास हो न पूर्ण काल्पनिक । लेख्ने प्रयत्न समाजिक उपन्यासको हो, अनभ्यस्त कलमले उपन्यास बनाउन सक्यो कि सकेन कुन्नी ? मूल्याङ्कको जिम्मा समादरणीय पाठकवर्गलाई नै ।

पर्वत राज्यकालको भाषा कस्तो थियो भन्ने कुरा अन्धकारमा छ भन्न मिल्दैन । पर्वत राज्यकालका दुई दर्जनभन्दा बढी लेखोटहरु उपलब्ध छन् । देशको सम्पर्क भाषाको मान्यता पाएकोे ‘नेपाली भाषा’को जननी खस भाषा हो । खस भाषाको आफ्नै मौलिक लिपि ‘खरोष्टि” थियो रे । लोप भयो । देवनागरीले त्यसलाई विस्थापित गरिदियो । कुनै बेला राष्ट्र भाषाको पगडीसमेत पाएको भाषाको नामाकरण ‘नेपाली’ हुनुपूर्व त्यसलाई ‘गोर्खा भाषा’ भनियो । गोर्खा भाषाको जननी ‘पर्वते भाषा” थियो । खस–डोटेली भाषाले नेपाली भाषातिरको गन्तव्ययात्रा सुरु गरेको स्थान पर्वत हो ।

पर्वतको साहित्य सिर्जनाकाल भानुभक्तभन्दा जेठो छ । सबै लेखोटहरु सुरक्षित हुन सकेनन्, आवश्यक प्रचारप्रसार पुगेन, कुना परे । तैपनि सिमित र आधा अधुरै भए पनि त्यसकालका लेखोटहरु उपलब्ध छन् । ती लेखोटहरुले तत्कालीन समाजमा बोलीचालीमा प्रयुक्त हुने भाषाको उदाहरण प्रस्तुतु गर्छन्् । तिनै लेखोटहरुलाई आधार मानेर वादसम्वादमा उपन्यासका पात्रहरुबाट तत्कालीन भाषिकाको प्रयोग गराउने कोशिस गरिएको छ । त्यसले पाठकहरुलाई पर्नजाने असुविधाको लागि क्षमा माग्नुको दोश्रो विकल्प रहेन ।

‘तपाईं सँगै पर्वतको इतिहास पनि विलुप्त हुने भो !’ तिलचामले मेरो कपाललाई लक्षित गरेर झण्डै दुई दशक अगाडि शिख घारका घनश्याम र मल्लाज जलजलाका हरिकृष्णले गरेको टिप्पणीले च्वास्स कतै घोचेथ्यो । इतिहासमा कलम चलाउन उत्प्रेरित गरेथ्यो ।

इतिहास तथ्यप्रमाणको आधारमा लेख्नुपर्ने, पर्वतको सन्दर्भमा समाजमा प्रचलित लोकथनहरुलाई पुष्टि गर्ने तथ्यप्रमाणहरु दुर्लभ ! त्यही तीतो यथार्थले इतिहासमा आधारित उपन्यास लेख्नुपर्ने आवश्यकताबोध भएथ्यो र जाँगर चलेछ भने लेख्नेछु भनेर कतै कबोल गरेको थिएँ ।

यसपटक मृत्युसंस्कार विमर्श नामको पुस्तक प्रकाशनपछि भिन्न विधामा कलम चलाउने शिखा प्रकाशनका प्रबन्धक पुष्पराजको सल्लाहले पनि कुतकुत्यायो । र डेढ दुई दशकपछि भए पनि कलम चलाउने धृष्टता गरिएको हो । आगामी तिहार लगत्तै पुस्तक पाठकहरुको हातमा पु¥याउने कोशिसमा छु । बन्धुत्रय प्राडा. कर्ण बानियाँ, नरबहादुर बिसी र कृष्णबहादुर बानियाँहरुले पाण्डुलिपिको समीक्षात्मक अध्ययन गर्दै हुनुहुन्छ ।
कुरिलाखर्के महारानी कथा सिर्जनाको आधारभूमि यही हो । नवविकल्प साप्ताहिकमा प्रकाशित