हिमपात पीडित कृषकहरुलाई राहतको माग

विकल्प न्यूज/बेनी
बेनी २७ फागुन ।मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले हिमपात पिडित कृषकहरुलाई राहत र क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद तुलाचनले एक महिनादेखिको हिमपातका कारण मुस्ताङको जनजिवन कष्टकर बनेको, यातायात, सञ्चार, विद्युत सेवा अवरुद्ध भएको, विकास योजना प्रभावित भएको र करोडौको पशुधनको क्षति भएको जानकारी गराउनुभयो ।

सांसद तुलाचनले हिमपातका कारण कष्टकर बनेको स्थानीयबासीको जनजिवन सहज बनाउन र भेडा, च्याङग्रा तथा चौरी गाई मरेर नोक्सानी ब्यहोरेका कृषकहरुलाई सरकारको तर्फबाट राहत तथा क्षतिपूर्तीको व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो ।

उपल्लो मुस्ताङमा हिमपातका कारण आहराको अभावमा सँयौ भेडा, च्याङग्रा र चौरीगाई मरेका छन् ।