मुस्ताङको कोरल्ला नाका खुलाउन धौलागिरिवासीको माग

????????????????????????????????????

मुस्ताङ र चिनको सिमा नजिकै रहेको गेट ।

नवविकल्प
भारतको अघोषित नाकाबन्दीका कारण दैनिक जनजिवन प्रभावित भइरहेका समयमा धौलागिरिवासीहरुले मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन सरकारसंग माग गरेका छन् ।
शनिबार बेनीमा धौलागिरी अञ्चलका सरोकारवालाहरुको भेलाले चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन पहल गर्न सरकारसंग आग्रह गरेका हुन् । उनीहरुले सिमा क्षेत्रमा आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास गर्न सरकारी निकायले योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजना म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा बेनीमा आयोजना गरेको छलफलमा सहभागीहरुले नेपाल र चीनबीच ब्यापारीक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरल्ला नाका सञ्चालन गर्न आग्रह गरेका छन् ।
म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका राजनीतिक दल, ब्यवसायी, सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीहरुले कोरल्ला नाका खुलाउन आवश्यक कुटनीतिक पहलका साथै पूर्वाधार तयार गर्न जोड दिएका थिए । नाका सञ्चालनमा आएदेखि धौलागिरि क्षेत्रको विकासले फड्को मार्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभरको जनजीवन कष्टकर भैरहेको अवस्थामा आगामी दिनमा यस्तो समस्या उत्पन्न हुन नदिनका लागि करिब एक दशकदेखि बन्द रहेको कोरला नाका सञ्चालन गर्न अहिले देखि पहल गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले बताए । उनले धौलागिरिको आर्थिक,सामाजिक र पर्यटन क्षेत्रमा नाका सञ्चालनबाट ठूलो फाइदा लिन सकिने बताए ।

म्याग्दीको सदरमुकाम बेनीदेखि १७६ किलोमिटर टाढा रहेको कोरल्ला नाका सञ्चालन गर्न सकेमा धौलागिरी क्षेत्र ब्यापारिक केन्द्र बन्नुका साथै भौतिक, आर्थिक र सामाजिक विकासले फड्को मार्ने श्रेष्ठको दावी थियो ।

कार्यक्रममा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कुटनीतिक पहलका अतिरिक्त कोरल्ला नाका खुलाई बाह्रै महिना सञ्चालन गर्न सडक स्तरवृद्धी, मोटरेबल पुल, ब्यापारीक योजना र सुख्खा बन्दरगाहा निर्माण गर्न आवश्यक रहेको बताएका थिए ।
बागलुङका प्रजिअ बिष्णुप्रसाद पोखरेल, म्याग्दीका सागरमणी पाठक, पर्वतका झंकनाथ ढकाल र मुस्ताङका गणेशवहादुर अधिकारीले पुर्वाधार निर्माण गरी नाकालाई सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका थिए ।

धौलागिरी अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक छविलाल जोशी र चण्डीका शसस्त्र प्रहरी गण कुश्माका एसपी कृष्णकुमार थापाले सुरक्षा ब्यवस्था सुदृढीकरणका साथै मुस्ताङमा एक चीन नीती बिरोधी गतिबिधि हुन नदिने प्रत्याभुती दिलाउन राजनीतिक र समुदायबाट पनि सहयोग आवश्यक रहेको बताएका थिए । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, मुस्ताङका खगेन्द्र तुलाचन र पर्वतका हरिओम शर्माले कोरला नाका सञ्चालन भएमा यस क्षेत्रमा भारतसंगको ब्यापार परनिर्भरता हट्ने, यहाँको उत्पादन चीन र चीनको उत्पादन यहाँ ल्याएर ब्यापार गर्नुका साथै पर्यटन विकासमा मद्दत पुग्ने बताए ।
नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदिशचन्द्र उपाध्याय, एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, एकिकृत माओवादी म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमीरे र पुर्व यातायात सहायक मन्त्री नरबहादुर हिराचनले कोरल्ला नाका सञ्चालनका लागि कुटनीतिक रुपमा पहल गर्न केन्द्रिय स्तरका नेताहरुसंग समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए । यसै गरी एकिकृत नेकपा माओबादी बागलुङका प्रचार प्रमुख किष्ण केसीले नेपाल र चीन विचको एतिहासिक सम्बन्धबाट नेपालीहरुले फाइदा लिनुपर्ने बताएका थिए ।
कार्यक्रममा नागरीक समाज मुस्ताङका चन्द्रबहादुर थकाली र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसीले पनि मन्तब्य व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रि सदस्य प्रमोद श्रेष्ठको अध्यक्षता र म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले सञ्चालन गरेको कार्यक्रमको अध्यक्ष जीवनबहादुर विश्वकर्माले समापन गरेका थिए । बागलुङका पत्रकार रामकृष्ण शर्माले कोरला नाकाको बस्तुस्थितीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।